काठमाडौं, ८ असोज । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा आज छलफल भएको छ । मन्त्रिपरिषद् पुर्नगठन चर्चा चलिरहेको अवस्थामा बिहीबार बिहान दुई अध्यक्षबीच भएको भेटवार्तालाई अर्थपूर्णरुपमा हेरिएको छ ।
दुई अध्यक्षबीचको भेटावार्ता मन्त्रिपरिषद् पुनर्गठनमै केन्द्रित रहेको स्रोतले जनाएको छ । दुई नेताबीचको भेटवार्तामा हालका केही पुराना मन्त्रीहरुलाई बिदा गरेर नया मन्त्रीलाई अवसर दिनेबारे कुराकानी भएको बताइएको छ ।
यसअघि मंगलबार पेरिसडाँडामा बसेको सचिवालय बैठकले नै मन्त्रिपरिषद् पुनर्गठन अघि बढाउने निर्णय गरेको थियो । तर हाल रहेका सबैलाई बिदा गर्ने, कार्यक्षमताका आधारमा विवादितलाई मात्रै बिदा गर्ने विषयमा नेताहरुबीच सहमति जुटिसकेको छैन । अहिले सञ्चार तथा सूचना प्रविधि र अर्थमन्त्रालय खाली रहेका छन् ।
यी दुवै मन्त्रालयको कार्यभार प्रधानमन्त्री ओली आफैंले सम्हालिरहनु भएको छ । केही दिनअघिको सचिवालय बैठकले स्थायी कमिटीको निर्णयअनुसार मन्त्रिपरिषद् पुर्नगठन गर्ने निचोड निकालेको थियो ।
COMMENTS