नेपाललाई सघाउन स्विट्जरल्याण्डको तत्परता

काठमाडौँ, ९ असोज । स्विट्जरल्याण्डका राष्ट्रपतिले महामारीको अहिलेको असहज अवस्थामा सुरक्षित आप्रवासनका क्षेत्रमा नेपाललाई सहयोग गर्न तत्पर रहेको बताउँछन् । महामारीका कारण आप्रवासीले झेल्नु परेका कठिनाइलाई दृष्टिगत गरी उनले नेपाललाई सहयोग गर्न आफ्नो देश तयार रहेको बताए ।

राष्ट्रपति विद्यादेवी भण्डारी र स्विट्जरल्याण्डका राष्ट्रपति सिमोनेता सोमारुगाबीच बिहीबार अपराह्न भएको टेलिफोनवार्तामा स्विस राष्ट्रपतिले सुरक्षित आप्रवासनको महत्व दर्शाउँदै आफ्नो देशको सरकारले त्यसनिम्ति नेपाललाई सहयोग गर्ने बताएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नेपाल र स्विट्जरल्याण्ड पर्वतीय मुलुक भएकाले पर्यावरण संरक्षणका निम्ति दुवै देशको पूर्ण प्रतिबद्धता रहेको छ भने दुवै देश जलवायु परिवर्तनको दुष्प्रभावबाट पीडित भएका सन्दर्भमा राष्ट्रपतिद्वयले उपयुक्त अनुकूलन योजनाका माध्यमबाट अन्तर्राष्ट्रिय एकीकृत जलवायु परिवर्तनका असर घटाउन प्रभावकारी कार्य गर्न सकिने विषयमा विचारविमर्श गरेको थियो । अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र इसिमोडसँग स्विट्जरल्याण्डले यो क्षेत्रमा सहकार्य गरिरहेको बताउँदै स्विस राष्ट्रपतिले आगामी वर्ष आयोजना हुने अल्पाइन पर्वत सम्मेलनमा सहभागी हुन राष्ट्रपति भण्डारीलाई आमन्त्रण गरे ।

अल्पाइन पर्वत सम्मेलन आयोजनाका निम्ति भएका प्रयासको प्रशंसा गर्दै राष्ट्रपति भण्डारीले महामारीका कारण स्थगन भएको ‘सगरमाथा संवाद’ परिस्थिति सामान्य भएपछि आयोजना हुने भएकाले त्यसमा सहभागी हुन स्विस राष्ट्रपतिलाइ पुनः आमन्त्रण गरे ।

दुवै देशका सरकारले साझा चासोका विषयमा बहुपक्षीय र द्विपक्षीय तहमा निकट सम्पर्कमा रहेर सहकार्य गर्ने विश्वास राष्ट्रपतिद्वयले व्यक्त गर्दै समग्र द्विपक्षीय सम्बन्धको अवस्थाप्रति सन्तुष्टि जनाए । साथै उहाँहरुले कोभिड–१९ को फैलावट नियन्त्रण आ–आफ्ना मुलुकले गरेका प्रयासबारे विचार आदानप्रदान गर्दै कोभिड–१९ का कारण दुवै देशले बेहोर्नुपरेको क्षतिप्रति एकापसमा ऐक्यबद्धता र सहानुभूति प्रकट गरेको उक्त मन्त्रालयले बिहीबार राति जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board