काठमाडौं, १४ असोज । राष्ट्रपतिका दुई उम्मेदवार डोनाल्ड ट्रम्प र जो बाइडेनबीच आज पहिलो बहस भयो । जुन बहसमा निकै आरोप प्रत्यारोप र अराजक आदानप्रदानहरु भए । ट्रम्पले बाइडेनको बुद्धिमतामाथि प्रश्न उठाए भने बाइडेनले ट्रम्पलाई ‘जोकर’ । बाइडेनले अमर्यादित तरिकाले ट्रम्पलाई तिमी चुप लाग समेत भने । बारम्बार ट्रम्पले बीचबीचमा बोल्दै अशिष्ट शैलीमा बाइडेनमाथि आक्रमण गरे ।
कैयनपटक दुबैजना एकैपटक बोलिरहे । संचालक क्रिस वालेसलाई पालोपालो बोल्न लगाउन हम्मे हम्मे समेत परेको थियो । कोरोनाको महामारीबाट २ लाखको ज्यान गएको प्रसंगमा ट्रम्पले आफ्नो ठाउँमा बाइडेन भएको भए अवस्था अझ खराब हुने दावी गरे । बहसमा ६ वटा शीर्षकमा छलफल भएको थियो भने हरेक शीर्षकका लागि १५ मिनेट छुट्याइएको थियो ।
बहसकै क्रममा ट्रम्पले आफूले मास्क बोकेर हिडेको भन्दै खल्तीबाट मास्क निकालेर देखाए । उनले आवश्यक परेको बेलामा मास्क लगाउने तर जतिबेला पनि बाइडेनले जस्तो मास्क लगाएर नहिड्ने बताए ।
सन् २०१६ र २०१७ मा कति ट्याक्स तिरेको भन्ने सन्दर्भमा संचालकले प्रश्न गर्दा ट्रम्पले आफूले लाखौं डलर तिरेको बताए । तर कति तिरेको भन्ने बताउन भने चाहेनन् । ट्रम्पले आफूले ४७ महिनामा धेरै काम गरेको बताउँदै भने – ‘तिमीहरुले ४७ बर्षमा गरेको भन्दा धेरै मैले ४७ महिनामा गरेको छु ।’ तर बाइडेनले भने – ‘यी राष्ट्रपतिका कारण हामी कमजोर, बिरामी, गरिब र विभाजित भएका छौं ।’
COMMENTS