२९ वर्षीय सुत्केरीको कोरोना संक्रमणबाट मृत्यु

राँझा, १८ असोज । बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत एक सुत्केरीको कोरोना सङ्क्रमणबाट आज बिहान मृत्यु भएको छ । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ निवासी २९ वर्षीया सुत्केरीको आज बिहान ४ः३० बजे उपचारकै क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सेती अस्पताल धनगढीमा जुम्ल्याहा सन्तान जन्मिएपछि उच्च रक्तश्राव भएका कारण पाठेघरको शल्यक्रिया गर्नाका साथै आठ पिन्ट रगत र चार पिन्ट प्लेटलेट दिँदा पनि स्वास्थ्यमा सुधार नआएपछि शिक्षण अस्पताल कोहलपुरमा प्रेषण गरिएको थियो ।

सेती अस्पतालको प्रयोगशालामै यही असोज १४ गते गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएकोे प्रेषणपत्रमा उल्लेख छ । यही असोज १५ गते अपराह्न ४ः०० बजे शिक्षण अस्पतालमा भर्ना हुँदा महिलाको अवस्था जटिल र बेहोस रहेको स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङको समन्वयमा मृतकको शव व्यवस्थापनको तयारी भइरहेको छ । योसँगै बाँकेका अस्पतालमा बाहिरी जिल्लाबाट आएर उपचारका क्रममा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ । बाँकेका मात्रै २० जनाको कोेरोना सङ्क्रमणका कारण मृत्यु भइसकेकोे छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board