प्रहरी र कांग्रेस कार्यकर्ताबीच सर्लाहीमा झडप, डीएसपीसहित दुई दर्जन बढी घाइते

सर्लाही, २८ असोज । सर्लाहीमा कांग्रेसका नेता-कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेको कांग्रेस सांसद अमरेशकुमार सिंहसहितको टोली र प्रहरीबीच झडप भएको हो । ठूलो संख्यामा आएका कांग्रेसका नेता एवम् कार्यकर्ता बलजफ्ती रुपमा जिल्ला प्रहरी कार्यालय प्रवेश गर्न खोजेपछि झड्प भएको बताईएको छ ।

झडपमा परी डीएसपीसहित ४० बढी घाइते भएका छन् । झडपमा एक दर्जन प्रहरीसहित आन्दोलनकारीहरू घाइते भएको प्रहरीले जनाएको छ । भिडलाई नियन्त्रणमा लिनका लागि प्रहरीले ३१ राउण्ड अश्रु ग्याँस प्रहार गरेको छ । प्रहरीले भिड नियन्त्रन गर्न लाठी चार्जसमेत गरिएको छ ।

झाडू, प्लेकार्डसहित प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय गएका थिए । रामनगर गाउँपालिका वडानम्बर ७ मा हत्या गरिएका महेन्द्र रामको हत्यारालाई कारबाही गर्नुपर्ने, रामलाई शहीद घोषणा गर्नुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउनु पर्ने माग उनीहरुको माग छ । कांग्रेसका नेताहरुले शान्तिपूर्ण प्रदर्शन गर्दा प्रहरीले एक्कासी बल प्रयोग गरेको दाबी गरेका छन् । तर प्रदर्शनकारीले तोड्फोड गर्न थालेपछि बल प्रयोग गर्दै अश्रु ग्याँस प्रहार गर्नुपरेको डीएसपी कुँवरले बताए ।

प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक धीरजप्रतास सिंहका अनुसार मृतकको शव अहिले वीरगन्जस्थित प्रादेशिक अस्पतालमा छ। आफन्तले १० लाख क्षतिपूर्तिसहित सहिद घोषणा गर्न मागिरहेका छन्। उनीहरूले घटनामा संलग्न नभएका मानिसलाई पनि पक्राउ गरी कारबाही गर्न माग गरिरहेको सिंहको भनाई छ । गत २२ गते सिसौट रामनगर गाउँपालिकाका ६५ वर्षीय महेन्द्र रामको हत्या भएको थियो। टोल-टोलबीच ढुंगामुढा हुँदा रामको ढुंगाले लागेर मृत्यु भएको थियो।

त्यसमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरिसके पनि आफन्तले अहिलेसम्म शव बुझेका छैनन्। बुधबार सिंहको नेतृत्वमा सयौं मानिस जिल्ला प्रहरी कार्यालय घेराउ गर्न पुगेका थिए।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board