दशैँमा पनि वाग्मती सफाइ अभियान नरोकिने

काठमाडौँ, २ कात्तिक । विगत सात वर्षदेखि जारी रहेको वाग्मती सफाइ महाअभियान घटस्थापनाको दिन पनि रोकिएन । कात्तिक ८ गते महाअष्टमीका दिनसमेत महाअभियानलाई निरन्तरता दिइने भएको छ ।

घटस्थापनाका दिन वाग्मती सफाइ महाअभियानको ३८८औँ हप्ताको सफाइ पशुपति र शङ्खमूल क्षेत्रमा गरिएको छ । पशुपति क्षेत्रमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य एवं अभियानकर्मी माला खरेलको नेतृत्वमा सफाइ गरिएको थियो ।

पशुपति क्षेत्रमा पहिलो महिला चलचित्र निर्देशक सुचित्रा श्रेष्ठ, कलाकार रश्मी भट्टलगायतले भौतिक दूरी कायम गर्दै स्वास्थ्य सुरक्षाका विधि अपनाएर सफाइ गरेको उनले बताए । यसैगरी अभियानकर्मी डा लक्ष्मी पौडेलको नेतृत्वमा शङ्खमूल क्षेत्रमा सफाइ गरिएको छ ।

कुहिने र नकुहिने फोहर छुट्याएर व्यवस्थापन गरिएको अभियानकर्मी किशोरसिंह शाहीले जानकारी दिए । सफाइमा प्रिया लामिछाने, रमशरण कार्की, खगेन्द्र कार्की, दुर्गा रावल लगायतका अभियानकर्मीको सक्रियता थियो । गुह्येश्वरी माथिको वाग्मती सफाइको ३४९औँ हप्तामा गोठाटार पुल नजीकको साकुरा उद्यान क्षेत्रको नदी किनारमा सफाइ गरिएको छ । यसैगरी उपत्यकाका रुद्रमती, विष्णुमती, मनोहरा, चक्रपथलगायत स्थानमा पनि भौतिक दूरी कायम गरी स्वास्थ्य सुरक्षाका उपाय अवलम्बन गरी सफाइ गरिएको छ ।

विसं २०७० जेठ ५ गते वाग्मती सफाइ महाअभियान शुरु भएपछि चाडपर्व, जाडो, झरी जस्तोसुकै अवस्थामा पनि अभियानकर्मी नदी किनारमा उपस्थित भई अभियानलाई निरन्तरता दिँदैआएका छन् । चैतदेखि कोरोना भाइरसको सङ्क्रमणबाट बच्न बन्दाबन्दी जारी गरिएपछि नदी किनारमा बस्दै आएका अभियानकर्मी सुरक्षा विधि अपनाएर अभियानलाई निरन्तरता दिइरहेका छन् । अन्य सफाइ अभियानकर्मीले भने आ–आफ्नो टोल क्षेत्रमा अभियानलाई निरन्तरता दिँदै आएका छन् । वाग्मती सफाइ महाअभियान शुरु भएपछि यसका सहायक नदीका साथै देशभर १०६ स्थानमा अभियान शुरु भएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board