सघन कक्षमा शय्या खाली नहुँदा आकस्मिक कक्षमा सङ्क्रमित

काठमाडौँ, ४ कात्तिक । काठमाडौँ उपत्यकामा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजारभन्दा बढी हुँदा टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा दैनिक पाँचदेखि सात जनासम्म नयाँ बिरामी आइसियुमा भर्ना भइरहेको छ । हरेक दिन भेण्टिलेटर र आइसियुका बिरामीलाई राम्रो हुँदा आइसोलेसनमा झार्ने गरिएको र त्यस ठाउँमा गम्भीर खालका नयाँ बिरामीको उपचार गरिँदै आइएको अस्पताल निर्देशक डा सागर राजभण्डारीले बताए । उनका अनुसार बिहानदेखि गम्भीर समस्या भएका सङ्क्रमित अस्पतालको आकस्मिक कक्षमा कुरिरहेका हुन्छन् । उनले भने “शैया खाली हुनु पहिले नै पालो कुरेका बिरामीलाई मिल्नासाथ आइसियुमा सार्ने गरिएको छ ।”

अस्पतालको आइसोलेसन र आइसियु अधिकांश समयमा सङ्क्रमितले भरिरहेको निर्देशक डा राजभण्डारीले बताए । अस्पतालमा दैनिकजसो नै सङ्क्रमित डिस्चार्ज भएर जानासाथ आकस्मिक कक्षमा रहेकालाई त्यहाँ सारिने गरिएको छ । उनका अनुसार आइसियुमा रहेका बिरामीलाई समस्या कम भएपछि केही दिनसम्म आइसोलेनमा राखेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै डिस्चार्ज गरिँदै आएको छ । अस्पतालमा गम्भीर समस्या भएका र अक्सिजन दिनुपर्ने बिरामीलाई राखिने गरिएको उनले बताए । उनले भने , “लक्षणसहितका अरु बिरामीले पनि अस्पतालमा भर्ना हुन चाहे पनि हामीले गम्भीर बिरामी मात्रै लिने गरेका छौँ ।”

उपत्यकामा सङ्क्रमितको सङ्ख्या बढीरहँदा अस्पताललाई त्यसको व्यवस्थापन गर्न गाह्रो भएको निर्देशक डा राजभण्डारीले बताए । उनका अनुसार अस्पतालले केही शैया बढाउन लागेको भए पनि अस्पतालको क्षेत्र नै साँघुरो भएकाले धेरै बढाउनसक्ने अवस्था छैन । अरु समस्या हुँदाजस्तो नभएर कोभिडका बिरामीलाई दूरी कायम गरेर राख्नुपर्ने बाध्यता रहेको उनको भनाइ छ । अस्पतालमा केही समय पहिले दुई भेन्टिलेटर थपिएको थियो । अहिले छ आइसोलेसन शैया, चार आइसियु र एक भेन्टिलेटर थप गर्न लागिएको उनले बताए । उनले भने “हामीले सम्भव भएसम्म बेड थपिरहेका छौँ ।”

अस्पतालमा परीक्षण गराएर पोजेटिभ रिपोर्ट आएपछि धेरै सङ्क्रमितले मलाई यही राख्नुपर्छ भन्दै झगडा गर्ने गरेको निर्देशक डा राजभण्डारीले बताए । अस्पतालले अक्सिजन नै चाहिने प्रकृतिका सङ्क्रमित मात्रै राख्ने बताएपछि उनीहरु झगडा गर्न आउने उनको भनाइ छ । कतिपयले अस्पतालमा स्वास्थ्यकर्मीलगायत कर्मचारीसँग झगडा गर्न आउने गर्छन् । अस्पतालले भर्ना गर्ने भनिएका प्रकृतिका गम्भीर बिरामीलाई समेत भन्नासाथ लिन सकिने अवस्था नभएको उनको भनाइ छ । उनले भने, “कतिपय सिरियस बिरामीलाई पनि बेड मिलाउनै नसक्दा अरु अस्पतालमा लैजानुहोस् भन्दा हामीलाई पनि राम्रो लाग्दैन ।”

एकातिर अस्पतालका सबै शैयामा खचाखच बिरामी र अर्कातिर कार्यरत कर्मचारीलाई पनि समय समयमा सङ्क्रमित हुँदा व्यवस्थापन गर्न कठिन भइरहेको निर्देशक डा राजभण्डारीले बताए । भर्ना भएका सबै बिरामीलाई हेर्नुपर्ने भए पनि जनशक्ति कम भएको उनले बताए । अस्पतालमा अहिले तालीमप्राप्त नर्सको कमी छ । एउटा भेन्टिलेटरमा एकजना नै तोकिएको मान्छे राख्नुपर्ने उनले भने एउटै व्यक्तिले नियमित गर्न नसक्दा फरक सिफ्टका लागि फरकफरक जनशक्ति चाहिन्छ । कर्मचारीलाई सङ्क्रमण भएर आइसोलेनमा हुँदा त्यो ठाउँमा अर्को कर्मचारी खटाउनुपर्छ । उनले भने “सबै कुरा मिलाएर गर्न अहिले सजिलो अवस्था छैन ।”

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board