पूर्व प्रमुखसचिव खनालको निधन

काठमाडौँ, १२ कात्तिक । तत्कालीन राजप्रसाद सेवाका पूर्व प्रमुखसचिव रेवतीरमण खनालको ८८ वर्षको उमेरमा निधन भएको छ । कानून क्षेत्रका ज्ञाता एवं साहित्यकार खनालको मङ्गलबार साँझ काठमाडौँ महानगरपालिका–१३ कालीमाटीस्थित निवासमा निधन भएको खनालका आफन्त सुरज खनालले जानकारी दिए । मधुमेह र दमको बिरामी रहनुभएका खनाल घरमै उपचाररत थिए ।

मदन पुरस्कारसमेत प्राप्त दिवंगत खनालले ‘मुलुकी ऐन केही विवेचना’, ‘कर सम्बन्धी कानून’, ‘नेपालको कानूनी इतिहासको रुपरेखा’, ‘रिट निवेदन सिद्धान्त र विवेचना’, ‘विश्वका प्रमुख कानून प्रणाली’, ‘नेपालको कानूनी मस्यौदा’, तथा ‘समालोचना र फैसला’ लगायत पाठ्यपुस्तक लेखेका छन् ।
तनहुँमा जन्मनुभएका खनालले ३५ वर्ष राजप्रसाद सेवामा काम गरेका थिए । उनका श्रीमती, दुई छोरा र एक छोरी छन् । काठमाडौँमा निधन हुनुभएका खनालको विदेशमा रहेका छोरा नेपाल आएपछि उहाँकै पूर्व इच्छाअनुसार तनहुँको देवघाटमा अन्त्येष्टि गरिनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board