कांग्रेस शीर्ष नेताको बैठकः १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल हुने

काठमाडौं, २० कात्तिक । नेपाली कांग्रेसका शीर्ष नेताहरू आज बैठक बस्दैछन्। आजको बैठकमा पार्टीभित्र देखिएको विवाद हल गर्ने बताईएको छ । कांग्रेसले १४ औं महाधिवेशन र पार्टीभित्रका असहमतिबारे छलफल गर्न शुक्रबार केन्द्रीय समिति बैठक बोलाईएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले बुझाएको विरोध पत्रमा छलफल गर्न कांग्रेस शीर्ष नेताको बैठक आज बस्ने भएको हो । सोमबार बसेको बैठक बिना निष्कर्ष टुंगिएको थियो । सांसद सूर्यबहादुर केसीको निधनले मंगलबार बोलाइएको बैठक स्थगित भएको थियो ।

वरिष्ठ नेता पौडेल पक्षले असोज १२ मा सभापति शेरबहादुर देउवाले गरेका निर्णय विधानविपरीत रहेको भन्दै विरोध पत्र बुझाएको थियो । १६ बुँदे विरोधपत्रको वरिपरि रहेर समाधान खोज्नुपर्ने पौडेल पक्षको माग छ । देउवा पक्ष विगतका निर्णय विधानमा टेकेर भएको दाबी गर्दै निर्णय नसच्याउने पक्षमा छ ।

सोमबारको बैठकमा उपसभापति विमलेन्द्र निधि र महामन्त्री पूर्णबहादुर खड्काले विगतका निर्णय विधानको अधीनमा रहेर भएको प्रस्ट्याएका थिए । निधि र खड्काको जवाफले पौडेल पक्ष सन्तुष्ट हुन् सकेको छैन ।

एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग
नेपाली कांग्रेसको पदाधिकारीमा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ । गिरिजाप्रसाद कोइराला फाउण्डेशनले बुधबार साँझ आयोजना गरेको ‘नेपाली कांग्रेसको १४ औँ महाधिवेशन र महिला नेतृत्व’ विषयक भर्चुअल अन्तक्र्रियाका सहभागी कांग्रेस महिला केन्द्रीय सदस्यहरुले कांग्रेसको केन्द्रदेखि वडा तहसम्म आठवटै संरचनामा एक तिहाइ महिलाको प्रतिनिधित्व हुनुपर्ने बताएका हुन् ।

कार्यक्रममा पार्टी केन्द्रीय सदस्य एवं पूर्वउपप्रधानमन्त्री सुजाता कोइरालाले महिलाको हक, हित स्थापित गर्ने कांग्रेसले स्थानीय तहदेखि केन्द्रसम्म पदाधिकारीमा महिलालाई एक तिहाइ समावेश गर्नुपर्ने बताए । “देशको हरेक परिवर्तनका संवाहक महिला हुन्, महिलालाई पार्टीले विशेष स्थान दिनुपर्छ”, उनले भने ।

पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री कमला पन्तले कांग्रेसले पार्टी क्रियाशील सदस्य कम्तीमा एक तिहाइ महिलालाई उपलब्ध गराउनुपर्ने बताए । कांग्रेस केन्द्रीय सदस्य एवं सांसद डा डिला सङ्ग्रौलाले आगामी महाधिवेशनमा कांग्रेस पदाधिकारीमा महिला नेतृत्वलाई ल्याउनुपर्ने बताए ।

कार्यक्रममा महिला नेत्रीहरुले दिनानुदिन शृङ्खलाबद्धरूपमा भइरहेको महिला माथिको हिंसा, बलात्कार र हत्याको भत्र्सनासमेत गरेका छन् । यस्तै सरकारले बहुमतका आधारमा संविधान मिच्ने, सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई नस्वीकार्ने, संवैधानिक निकायमाथि हस्तक्षेप गर्ने कुरा कुनै हालतमा स्वीकार्य हुन नसक्ने बताएका छन् । यसैगरी कोरोना महामारी नियन्त्रण बाहिर जानसक्ने सम्भावना देखिइसकेकाले सरकारसँग निःशुल्क स्वास्थ्य परीक्षण र उपचारको मागसमेत गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board