पुराना वामनेता लामाको निधन

वाग्मती, २३ कात्तिक । मकवानपुरका पुराना कम्युनिष्ट नेता तथा नेपाली राजनीतिमा चर्चित ‘नख्खु जेल सुरुङ काण्ड’ का ‘ब्रेकर’का रुपमा पनि चिनिने पूर्वसांसद वीरबहादुर लामाको निधन भएको छ । तत्कालीन एमालेको केन्द्रीय सदस्यसमेत रहेका लामाको दुवै मिर्गौलाले काम गर्न छाडेपछि लामो समयदेखि अस्पताल भर्ना भएका थिए । उनको आज बिहान निधन भएको लामाकी छोरी श्रमिक लामाले जानकारी दिए ।

विसं २०४९ मा मकवानपुर जिविसका सभापति बन्नुभएका लामा २०५६ सालमा मकवानपुर क्षेत्र नं ३ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका थिए । विसं २०३३ मा लामासहित सिपी मैनाली, प्रदीप नेपाल, गोपाल शाक्य, घनेन्द्र बस्नेत, धर्म घिमिरेलगायत १५ जना कम्युनिष्ट नेताहरु नख्खु जेलबाट सुरुङ खनेर भाग्न सफल भएका थिए ।

विसं २०६२र६३ को जनआन्दोलनपछि पुनस्र्थापित संसद्को सदस्य रहेका लामा २०६४ सालको पहिलो संविधानसभाको चुनावमा पराजित भएका थिए । लामा जिविस मकवानपुरका सभापति भएपछि उहाँकै पहलमा काठमाडौँलाई तराईसँग जोड्न मकवानपुको पहाडी क्षेत्रमा सडक निर्माण भएको हो । मदन भण्डारी मार्गका रुपमा चिनिने उक्त मार्गबाट अहिले दैनिक सयौँ सवारी आवतजावत गर्ने गर्छन् ।

उत्तरी मकवानपुरको फाखेलका स्थायी बासिन्दा लामाले तत्कालीन नेकपा माले निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताईन्छ । जातीय पहिचानसहितको राज्य निर्माणको विषयमा नेकपा एमालेभित्र तीव्र विवाद भएपछि अशोक राईको नेतृत्वमा लामासहित नेताले तत्कालीन नेकपा एमाले परित्याग गरेका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board