विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार नाघ्यो, ५ करोड बढी संक्रमित

काठमाडौँ – विश्वरभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड नाघेको छ । पछिल्लो ३० दिनमा मात्रै कोरोना भाइरसको दोस्रो लहरका बीच एक चौथाई संक्रमित बढेको समाचार संस्था रोयटर्सले उल्लेख गरेको छ ।

पछिल्ला केही दिनमा अमेरिकामा दिनहुँ एक लाखभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको छ । युरोपेली मुलुकमा पनि संक्रमण दर बढेकाले विश्वव्यापी रुपमा संक्रमितको संख्या बढिरहेको विभिन्न अन्तर्राष्ट्रिय समाचारसंस्थाहरुले उल्लेख गरेको छ ।

पछिल्ला ७ दिनमा विश्वभर दैनिक रुपमा ५ लाख ४० हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । संक्रमितको संख्या ३ करोडबाट ४ करोड पुग्न ३२ दिन लागेकोमा पछिल्लो समय २१ दिनमै थप एक करोडमा कोरोना पुष्टि भएको छ ।

यो समाचार तयार पार्दासम्म विश्वभर कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ५ करोड ३ लाख ९५ हजार १ सय ७४ पुगेको छ । त्यस्तै कोरोनाबाट विश्वभर मृत्यु हुनेको संख्या १२ लाख ५५ हजार ४ सय ९० पुगेको छ भने करिब ३ करोड ३० लाख संक्रमणमुक्त भएका छन् ।

विश्वकै करिब २० प्रतिशत संक्रमित अमेरिकामा रहेका छन् । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोना भाइरस रिसोर्स सेन्टरका अनुसार अमेरिकामा कोरोना संक्रमितको संख्या करिब एक करोड पुगेको छ । आइतबार बिहानसम्म अमेरिकामा कोरोना संक्रमितको संख्या ९९ लाख ६२ हजारभन्दा बढी पुगेको छ । अमेरिकामा कोरोनाबाट २ लाख ३७ हजारभन्दा बढीको मृत्यु भएको छ भने संक्रमण पुष्टि भएकामध्ये करिब ३९ लाख निको भएका छन् । अमेरिकामा पछिल्ला ७ दिनमा औसत एक लाखका दरले संक्रमितको संख्या बढिरहेको छ ।

रोयटर्सका अनुसार युरोपमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या करिब एक करोड २० लाख रहेको छ । विश्वभर कोरोना भाइरसबाट मृत्यु हुनेमध्ये २४ प्रतिशत युरोपमा मात्रै भएको छ । रोयटर्सका अनुसार युरोपमा प्रत्येक तीन दिनमा करिब १० लाखमा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । पछिल्लो समय फ्रान्समा संक्रमण ह्वात्तै बढेको छ ।

फ्रान्समा केही दिनयता दिनहुँ करिब ५४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ । कोरोना संक्रमणका हिसाबमा भारत सबैभन्दा बढी प्रभावित भएको छ । सोमबार बिहानसम्म भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख नाघेको छ । त्यस्तै भारतमा कोरोना संक्रमणबाट एक लाख २६ हजारभन्दा बढीको ज्यान गएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board