भारतीय विदेश सचिव काठमाडौं आउँदै, नेपाल-भारतबीच ‘संवादहीनता’को अन्त्य होला ?

काठमाडौं, २५ कात्तिक । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने भएको छ । नेपाल र भारतबीच विगत एक वर्षदेखि कायम रहेको ‘औपचारिक संवादहीनता’ लाई अन्त्य गर्न भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगला नेपाल आउने भएको स्रोतको भनाई छ ।

भारतीय सेनापति मनोज मुकुन्द नरवणेको तीन दिने नेपाल भ्रमण लगत्तै दुई देशबीचमा परराष्ट्र सचिव र त्यसलगत्तै परराष्ट्र मन्त्रीस्तरको बैठकको तयारी अगाडि बढाईएको हो । भारतीय विदेश सचिव हर्ष बर्धन श्रृंगला नोभेम्बर अन्तिम साता नेपाल भ्रमणमा आउने बताईएको छ । तर, नयाँदिल्लीस्थित नेपाली दूतावासले भने भ्रमणका कुराकानी भइरहेको भए पनि मिति भने टुंगो भई नसकेको बताएको छ।

श्रृंगला आगामी मंसिर ११ मा दुई दिने नेपाल भ्रमणमा जाने भारतीय अंग्रेजी दैनिक द हिन्दुस्तान टाइम्सले पनिउल्लेख गरेको छ ।

नेपाल भ्रमणको क्रममा कालापानी, लिपुलेक, सुस्ता लगायतका विषयमा कुराकानी हुने वा नहुने भन्ने कुनै ठोस कुरा आएको छैन । दुई देशको बिचमा सन् २०१४ मा सुस्ता र कालापानीको विषयमा परराष्ट्र सचिव तहमा कुराकानी गर्ने सहमति भएको थियो तर सीमा केन्द्रित एउटा बैठक पनि बसेको छैन ।

स्रोतका अनुसार दुवै देशका परराष्ट्र सचिवले नेतृत्व गर्ने संयुक्त आयोगको बैठक नयाँ दिल्लीमा अर्को महिना गर्ने तयारी भइरहेको छ । सो आयोगले समग्र द्विपक्षीय विषयहरुमा गहन छलफल गरी समाधानका लागि कर्मचारीतन्त्रलाई निर्देशन दिनेछ । सो आयोगको बैठकमा सीमा विवादका सम्बन्धमा कुराकानी हुने छ ।

अघिल्लो वर्ष कात्तिकमा भारतले कालापानीलगायतका क्षेत्र समेटेर नयाँ राजनीतिक नक्साप्रकाशन गरेयता दुई देशबीचको सम्बन्धमा चिसोपन रहँदै आएको छ । गत वैशाखमा भारतले नेपालको भूमि भएर पिथौरागढ–लिपुलेक सडकको उद्घाटन गरेपछि काठमाडौं–दिल्लीबीचको दूरी थप बढ्न गएको थियो । नेपालले पनि भुमि कालापानी, लिपुलेक, लिम्पियाधुरासहितको आफ्नो भुमि समेटेर नयाँ नक्सा जारी गरेको छ । नेपालले भारतसँग सिमाबारे वार्ता गर्न आग्रह गर्दा पनि भारतले बेवास्ता गरिरहेको छ । यसबीच नेपाल-भारतबीच सिमासम्बन्धी कुनै वार्ता हुन सकेको छैन ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board