नेकपा विवादः आक्रोसित बनेका बहुमत सचिवालय सदस्यहरू बैठक बस्दै


काठमाडौं, २५ कात्तिक । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र यतिबेला विवाद चर्किदै गएको छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले बैठक बस्न बेवास्ता गरेपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मंगलबार सचिवालयको बैठक बोलाएका छन् ।

ओलीले ठोस निर्णय नदिएपछि कार्यकारी अधिकार प्रयोग गर्दै प्रचण्डले सचिवालय बैठक बोलाएको एक नेताको भनाई छ । प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले सचिवालय बैठक नबोलाएपछि आक्रोसित बनेका बहुमत सचिवालय सदस्यहरू आज भेला हुने बताईएको छ ।

पार्टी कार्यालय धुम्बाराहीमा आज दिउँसो ४ बजे नेकपा अध्यक्ष पुष्पकमल दाहाल, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठबीच छलफल हुने एक नेताले बताए । प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले यसबारेमा टुंगो लागिनसकेको बताएका छन् ।

यसअघि बहुमत सचिवालय सदस्यहरूले शनिबार प्रधानमन्त्री ओलीलाई भेटेर सचिवालय बैठकका लागि पत्र बुझाएका थिए। सचिवालय सदस्यहरूले बुझाएको पत्रमा प्रधानमन्त्री ओलीले विधान अनुसार गर्नु भनेर तोक लगाएको स्रोतको भनाई छ । सचिवालय सदस्यहरूले बुझाएको पत्रका आधारमा विधान अनुसार बैठक बोलाउने महासचिव विष्णु पौडेलले अध्यक्ष प्रचण्डलाई जानकारी गराएका थिए। बैठक आह्वान गर्न ढिलो गर्न नहुने अडानमा प्रचण्डसहित ५ सचिवालय सदस्यहरू छन् । शुक्रबार पनि पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बहुमत सचिवालय सदस्यको अनौपचारिक बैठक बसिसकेको छ ।

प्रचण्डले बैठक राख्ने तयारी गरेको खबर आएपछि मंगलबार बिहान लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा स्थायी समिति सदस्य शंकर पोखरेल प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर खुमलटारमा प्रचण्डसँग भेटवार्ता गरेका छन् । स्रोतका अनुसार सो भेटमा पनि अध्यक्ष प्रचण्डले बालुवाटारबाट ठोस प्रस्ताव नभएपछि आफूले बैठक राख्ने तयारी गरेको बताएका थिए।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board