परम्परागत पेशा व्यावसायिक बन्दै गएपछि उत्साहित मालाकार दम्पत्ति

(कहिले नओइलाउने मखमली फूल, जुन तिहारको भाइटिकाको दिन मात्रै लगाइन्छ र यसको आफ्नै विशिष्ट धार्मिक तथा सांस्कृतिक महत्व छ । मखमली फूललाई स्वास्थ्य र दिर्घायुको प्रतीकको रुपमा लिइन्छ । विगत र वर्तमानमा मखमली फूलको परम्परागत पेशा र यसको व्यावसायिकताका बारेमा मालाकार दम्पत्तिसँगको कुराकानी प्रस्तुत गरेका छौं । पुख्र्यौली रुपमै फूलको काम गर्ने मालाकारहरुको मखमली फूलप्रतिको धारणाका विषयमा नेपालपेजका लागि ध्रुव अधिकारीले गरेको संवादको मूल अंशः)

मालाकार दम्पत्ति  । तस्विर : ध्रुव अधिकारी

‘यो पटक मात्रै १५ हजार माला विदेश निर्यात गर्‍यौँ, यो हाम्रो पुर्खौली पेशा हो । म माली थरकीे, उहाँ (श्रीमान्) मालाकार । तर, मालाकार र माली एउटै हो । अब विदेश भन्नाले कहाँ हो ? कहाँ हो ? अमेरिका, अष्ट्रेलिया कता–कता लान्छ । तर आजभोलि हामी मालाकारहरुले मात्रै यो पेशा गर्दैर्नौं । विभिन्न अरु जातजातिहरुले पनि गर्छन् । आजकाल त यो व्यावसायिक भइसक्यो, परम्पराको त कुरै छैन । अब के भन्ने, संसारमा सबैले यो फूल लगाउन थाले ।

अहिले एउटा माला तयार गर्दा २५ रुपैंयामा दिने गर्‍याछौँ, साढे २२ रुपैंया जति त मेरै पर्छ । अब काम धेरै गाह्रो छ । पहिला रोप्नुपर्‍यो, पानी दियो अनि फेरी घाँस आउछ, घाँस निकाल्यो, तीन चोटी, चार चोटी घाँस उखल । अब आफूले मात्रै सकिँदैन, खेताला राख्नुपर्‍यो । ड्याङ पार्नपर्‍यो फेरी फूल अलि–अलि गरेर फुल्छ । फुलेका फूलहरु टिप्दै जानुपर्‍यो, फर्केका फूल मात्रै टिप्नुपर्‍यो । पहिला टिप्नुपर्‍यो, टिपेर फेरि उन्नुपर्‍यो । एकैचोटी टिपेर उन्ने होइन, उन्दै जानुपर्‍यो । तिथिअनुसार दशैं, तिहारअगाडि, पछाडि परिरहन्छ त्यसले पनि असर गर्छ । साउनमै तयार भएको माला अब मंसीरमा तिहार पर्‍यो । फूल लिन मान्छे साउनदेखि आ’छ । फेरि रोप्न पनि ढिला भयो, मान्छेले साउनदेखि फूल खोजिसक्याथे ।’

‘एउटा मालाको दश पैसा देखि सुरु गरेको आज २५ रुपैंयामा बेच्छु । पहिला सुरु गर्दा एउटा मालाको १० पैसा थियो । अहिले त आफ्नै २२ रुपैंया पर्छ । अहिले हामीले २ रुपैंया नाफा खाएर बेच्ने हो, जम्मा २ रुपैंया ।

मखमली फूल

‘हाम्रो माइतीपट्टीका अनि घरपट्टीकाले पनि यही पेशा गर्छन् । सन्तुष्टै छु, मैले त माइतमा हुँदा सानैदेखि नै फूल टिप्थे । अब अहिले त हाम्रो परिवारमा म पनि बुढी भइसकें । हामी दुइजना बुढाबुढी, छोराछोरी, बुहारी गरेर दश जना छौं । मेरो नाम सतीदेवी माली । कम छ मेरो नाम ! महादेवको बुढी सतीदेवी । उहाँ महादेव म पार्वती, सतीदेवी भने पनि हुन्छ नि !’ लामो हाँसो हाँस्दै सतीदेवी भन्छिन् ।

‘पैसा त जहाँबाट पनि आउँछ नि । मकै रोप्यो, आलु रोप्यो, काउली रोप्यो, साग रोप्यो पैसा त आउँछ । दुःख हुन्छ अनि पैसा पनि हुन्छ । फेरि धान त एकपटक काटिन्छ, यो त जेठदेखि नै टिप्दै आएको, फल्दै आउँछ, टिपिराख्नुपर्छ, एउटै बोटमा धेरै फुल्छ । खेतालाहरु लगाइरहन्छुपर्छ, अब घाँसै २, ३ पल्ट उखल्नुपर्छ । अब गोड्नुपर्‍यो, मल हाल्नुपर्‍यो, औषधि राख्नुपर्ने नत्र मरेर जान्छ भिटामिन, मेटासिट राखिरहनुपर्छ । कहिलेकाहीं खडेरी परेर बोट भसक्कै हुन्छ, लगानी डुब्छ । पानी धेरै पनि हुनुहुन्न, थोरै पनि हुनुहुन्न, ठिक्कसँग पानी राख्नुपर्छ । मैले त बिहा नगरेदेखि यो गरिराको । सबै मालाकारहरुले यो फूलको पेशा गरेका छैनन् ।’

मखमली फूल

आफ्नो कामबारे सविस्तार वर्णन गर्दै उनले भनिन्– ‘एउटा मालाको दश पैसा देखि सुरु गरेको आज २५ रुपैंयामा बेच्छु । पहिला सुरु गर्दा एउटा मालाको १० पैसा थियो । अहिले त आफ्नै २२ रुपैंया पर्छ । अहिले हामीले २ रुपैंया नाफा खाएर बेच्ने हो, जम्मा २ रुपैंया । यो सालको माला पनि सबै गइसक्यो, बिक्रि भइसक्यो । आफ्नो मालाले मात्र नपुगेर गाउँभरी खोजेर अरुको घरबाट खोजेर जम्मा गरेर ल्याएको । त्यस्सै यहाँसम्म कल्ले पर्‍याउन ल्याउँछ ? आफ्नो घरमा कति छ त्यो पनि राख्यो । दुःख छ, तर पनि गर्नैपर्छ ।’

फूलको व्यापार गर्दा मन खुसी हुने उनले बताइन्– ‘अरुले धान रोप्दा कोही रमाउँछ ? फूल रोप्दा मनै आनन्द हुन्छ । कति वर्ष नै बाँच्छु र ? यो वर्षमा ७० पुग्छु कि π उहाँ र म २ वर्षको फरक छ, शिव र पार्वतीको जोडी छ हाम्रो । यो पेशाबाट म सन्तुष्ट छु । फूल नरोपे पैसा कहाँबाट आउँछ ? परिवार कसरी पाल्ने ? फूल रोप्यो भने अलि–अलि खर्च पनि पाइन्छ । रोपेन भने त खर्चै हुँदैन, म बुढीलाई कल्ले खर्च दिन्छ ?’

मालाकार दम्पत्ति  ।

बुढ्यौलीले गर्दा यो वर्ष आफू खेतमा जान नसकेकोले त्यति खुसी नलागेको उनको अनुभव छ । यो मखमली फूलमा टिप्दा रमाइलो हुन्छ तर बास्ना आउँदैन । हाम्रो जात मालाकारले फूलको काम गर्ने, ताम्राकारले तामा, पित्तल, धातुको काम गर्ने, प्रजापतिले माटोको भाँडाको काम गर्ने, दमाइले लुगा सिउने काम गर्छ, हामी मालाकारले अरुको फूलको पनि व्यापार गर्छौं, तर भाइटिकामा नभइ नहुने मखमली फूल (ग्वेस्वाः) जुन दिदीले भाइलाई लगाइदिन्छन् ।

यो तिहारको पर्व संसारभरी, विदेशमा पनि नेपाली जहाँ–जहाँ छन्, त्यहाँ–त्यहाँ यो मखमली फूलको माला लग्छ, त्यसैले मखमली फूलको मालाको महत्व छ, धन्यवाद !’, सतीदेवीले एकैसासमा आफ्नो कुरा बताइसकेर श्रीमान्तर्फ इशारा गर्दै भनिन्–अब, तपाइ भन्नुस् न !

मखमली फूल

सतीदेवी मालाकारका श्रीमान् पेशाले शिक्षक रहेछन् । अहिले ७० वर्षको रिटायर्ड जीवन बिताइरहेका इन्द्रलालले भने– ‘यो मखमली फूलको प्रमुख विशेषता नै यसको बोट नरम, फूलचाहिं कडा छ, लगाउँदा चस्–चस् घोच्छ । दिदी र भाइ सम्झाउँछ जस्तो लाग्छ । कल्ले लाइदिया ? दिदीले लाइदिया भन्ने कुरो सम्झनको लागि त्यो मालाले च्वास्स्–च्वास्स् घोच्या ! त्यो दिदीको सम्झनाको लागि यो माला उपयुक्त देखियो भन्ने कुरो यसबाट स्पष्ट हुन्छ ।’

‘तपाईंको गतवर्ष चाहिं नि साउनदेखि नै मालाको माग आयो । तर साउनमा त हुँदैन । साउनमा यसरी माला दिन सक्नको लागि त्यो बिऊबाट बेर्ना उत्पादन गर्नुप¥यो, रोप्नुपर्‍यो । हामीले साउनमा चाहिं दिन सकिँदैन । हामीले यहाँबाट नसकेर, हामीहरुको अन्त–अन्त पनि कन्ट्याक्ट् छ, यहाँ झिकाएर पास गरौं भनेर, कन्ट्याट् गर्दाखेरी यहीबाट नै दिनलाई छैन, अहिले फूल अभाव नै छ, खेत–खेतमै लिन आउँछन्, टिप टिप गाडीमै लिएर जान खोज्छन् । कन्ट्याक्ट् गरेको जति पनि दिन सकिएन । लिन आएकालाई हामीले पुर्‍याउन सकेन भनेपछि के लाग्छ ?

मखमली फूल

हामीले भएजति सकेजति उठाएर दिंयौं, नभको त अब ?, इन्द्रलाल बडो फरासिलो पारामा गफिए– ‘हाम्रोमा माग आएको पूरा गरें अरु थाहा भएन । सरकारले विदेशबाट माला नल्याउने र यहींको माला खपत गर्ने भनेकाले पनि व्यापार भएको होला । पहिला भारतबाट करोडौं बराबरको फूल आयात हुने भइराथ्यो । यसपाली भारतबाट फूल नझिकाउले, नेपालमा जति छ त्यति मात्रै उपयोगमा ल्याउने भन्ने कुरा आयो । अति नै राम्रो हो, हाम्रो जस्तो परम्परागत पेशा गर्नेहरुका लागि अझ राम्रो हो । अहिले व्यवसायिक दृष्टिकोणले फूल लगाउने नर्सरीहरु बनेका छन्, अहिले यो नगदेबालीको रुपमा आउदैछ, यो राम्रो पक्ष हो ।’

‘म पेशाले शिक्षक, मेरो पिता, पुर्खाको पेशा, फूलको काम गर्ने मालाकार त्यसैले मैले पनि विद्याधनम् सर्वधनम् प्रधानम्लाई मेरो जीवनको मूलमन्त्र बनाउदै आएको छु । मेरो जीवनको उत्तराद्र्धतिर शिक्षक पेशाबाट रिटायर्ड भएँ अब, कृषिमा लागेको छु, जीवन चल्दैछ, खुशी छु । पेशाले शिक्षण भएकोले म व्यापारीको हिसाबले हेर्दिनँ, हाम्रो परम्परागत पेशालाई निरन्तरता दिदै सबैलाई भन्दै आएको छु, सरस्वतीको बास हुनुपर्छ’, इन्द्रलाल ज्ञान र कर्मलाई जोडेर भन्नथाले– ‘विद्याधनम् सर्वधनम् प्रधानम्’ भनेको विद्याको एउटा मूलमन्त्र नै हो ।

मखमली फूल

यसलाई बिर्सेर आजभोलि विद्यालाई के–के मान्याछन्, मान्याछन् । अनर्थ मान्याछन् । विद्या भनेको कुरा त नभइ नहुने तत्व हो । विद्या अध्याँरोबाट उज्यालोतिर लाने वस्तु हो । नोकरी गर्न पनि यति क्लास पास भएकोलाई यो पोष्ट भनेर सरकारले पनि निर्धारण गरेको छ । जस्तो पहिले ८ पास भएकोलाई बैदार, १० पास भएकोलाई मुखिया अनि एसएलसी पास भएकोलाई खरदार, आइए पास भएकोलाई सुब्बा भनेजस्तै यस्तै शिक्षा नभइकन जागिर पनि नपाउने भयो ।

त्यसो भएकोले शिक्षा भनेको कुरा जति–जति बढ्दै गयो, त्यति त्यति आफ्नो शरीरलाई नै हलुको पार्दै ल्याउछ शिक्षाले । शिक्षा भनेको कुरा त अब अंशबन्डा गर्दाखेरी कसैलाई दिन पनि परेन, त्यो आफूलाई नै हुनेभयो । शिक्षा भनेको चोरले पनि चोर्न नसक्ने, मुसाले पनि काट्न नसक्ने यो अमूल्य सम्पत्ति हो । अब अरु जति पनि चल, अचल सम्पत्ति भनेको कुरा त दाजुभाइको बीचमा बाँड्नुपर्छ । एउटा सियो त आधा–आधा गरेर भाग गर्छ भन्छन् भने शिक्षा भनेको एकदम अमूल्य वस्तु हो । शिक्षा नभइ नहुने वस्तु हो ।

त्यसैले अंग्रेजीमा एजुकेशन इज् आउर थर्ड आई भन्ने गर्दछ । अब यो हाम्रो देश नेपालमा देश सुहाउँदो शिक्षा नभएपछि यहाँ पढेर के गर्ने ? यहाँ पढेर काम लागेन । कमाइधमाइ गर्न विदेश लाग्न परेन । त्यसैले बाध्यताले विदेश लागेका हुन् । समय सुहाउँदो शिक्षा नीति भइदिएको भए, यहीं बसेर पनि कमाउन सकिन्थ्यो नि । यहाँ बसेर परिवार, आफू कोही पाल्न सकिएन । नसकेपछि जन्मस्थान छोडेर अरु देशमा गएर कमाउनतिर लाग्नुप¥यो, यो रहर होइन, बाध्यता हो । कुरो यही नै हो ।’

इन्द्रलालले आफूले जानेको फूल र माला उत्पादनको सिप सबैलाई सक्दो बाँड्ने गरेको बताए । कुराकानीको बीट मार्दै उनले भने– ‘आफूले जानेको सिप, शिक्षा बाँड्दै जानुपर्छ, सिक्दैजानुपर्छ, म पनि सिक्दैछु, अरुले पनि सिकून् । अब यो ३३ कोटी देवता भएको देशमा यो कोरोनाले कसैलाई पनि छुन नसकोस् । शुभकामना !’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board