गृहको निर्देशनः ‘राजावादी’को नाममा प्रदर्शन भए बल प्रयोग गरेर नियन्त्रण गर्नु

काठमाडौँ, १७ मंसिर । कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण अझै पनि विश्वका अधिकांश देशका मानिसहरु त्रासपुर्ण जीवन विताईरहेका छन् । नेपालमा पनि कोरोना भाईरसका नयाँ संक्रमित दिनहुँ थपिनै रहेका छन् भने दिनहुँ जसो लगभग दुईदर्जन मानिसको ज्यान गईरहेको छ ।

कोरोना भाईरस रोकथामका लागि सरकारले विभिन्न क्षेत्रमा सक्दो पहल गरेको बताएता पनि त्यति प्रभावकारीपुर्ण कार्य गर्न सरकार चुकेको जनताले महशुष गरेका छन् । कोरोना महामारी रोकथाम लगायतका विषयमा काम गर्न नसकेको भन्दै सरकारको चौतर्फि आलोचना भईरहेको छ ।

यसैबीच कोरोना संक्रमणको कुनै ख्याल नगरी देशका अधिकांश सहरहरुमा विभिन्न नामले प्रर्दशन भईरहेको छ । पछिल्लो केहि दिन यता देशका मुख्य शहरमा राजसंस्था र हिन्दूराष्ट्रको पक्षमा प्रदर्शनहरू भईरहेको छ । राजसंस्था पुनःस्थापनाको मागसहित पूर्वराजाका समर्थकको प्रदर्शन मुलुकका मुख्य सहरहरूमा हुन थालेपछि गृह मन्त्रालयले रोक्न निर्देशनसमेत दिएको छ ।

मन्त्रालयले विरोध र्‍याली, सभा, जुलुसलगायतका गतिविधि हुन नदिन ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायलाई निर्देशन दिएको हो । गृहमन्त्रालयले निर्देशन अटेर गरिए बल प्रयोग हुनेसमेत चेतावनी दिएको छ ।

राजनीतिक आन्दोलन र विरोध प्रदर्शनका नाममा महामारीलाई प्रश्रय दिने गरी कुनै गतिविधि नगर्न र प्रशासनको अनुमतिबेगर भएका गतिविधि नियन्त्रणमा लिन निर्देशन दिइएको गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाको भनाई छ ।

उनका अनुुसार सरकारका आदेश र निर्देशन उल्लंघन गर्दै परिस्थितिलाई थप प्रतिकूल बनाउने, अस्थिरता फैलाउने, सर्वसाधारणलाई भड्काउने गरी गतिविधि गर्न नदिन देशका सबै प्रशासनमा परिपत्र भइसकेको बताए ।

मन्त्रिपरिषद्ले संक्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ मा उल्लेखित जनस्वास्थ्यमा प्रतिकूल हुने गतिविधि नियन्त्रणका लागि निर्णय लिने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएको र उनीहरूका आदेश र निर्देशन पालना गर्ने दायित्व सबैको भएको गृहमन्त्रालयको भनाई छ ।

केही साताअघि गृहमन्त्री रामबहादुर थापासहितको सुरक्षा बैठकले नै राजावादीका गतिविधि बढ्दै गएको र यसबाट अस्थिरता फैलाउन बल पुग्ने निष्कर्ष निकालेको खबर छ ।

बैठकमा राजावादीहरूको विरोध कार्यक्रममा विभिन्न राजनीतिक दल सम्बद्ध स्थानीय कार्यकर्तादेखि सर्वसाधारणसमेत सहभागी हुन थालेको भन्दै छलफल गरिएको स्रोतले बतायो । राजसंस्थाको पक्षमा निकालिएका प्रदर्शनमा हिन्दु धर्मसम्बन्धी संघसंस्था र कतै नामै नसुनिएका संगठनको ब्यानर देख्ने गरिएको र विभिन्न अभियानका नाममा प्रदर्शन हुन थालेपछि गृहमन्त्रालयले रोक्न कडा निर्देशन दिएको बताएको छ ।

जुलुस र प्रदर्शन नगर्न प्रशासनको आग्रह
यस्तै (कोभिड-१९) महामारी अझै रहेको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले सभा, जुलुस र प्रदर्शन नगर्न आग्रह गरेको छ। प्रशासन कार्यालयले भिडभाडजन्य गतिविधि नगर्नरनगराउन प्रशासनले आज विज्ञप्ति निकालेर जानकारी गराएको हो ।

प्रशासनले निकालेको प्रेस विज्ञप्तिमा भनिएको छ, स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० को विपरीत हुने भएकोले त्यस्ता भिडभाडजन्य गतिविधिहरू नगर्न र नगराउन साथै महामारी रोकथाममा सहयोग पुर्‍याउनु हुन सबैमा जिल्ला प्रशासन कार्यालय हार्दिक अनुरोध गर्दछ,’ ।

‘पछिल्लो समय विभिन्न भिडभाडजन्य गतिविधि जस्तै सभा, जुलुस, प्रदर्शन र अभियान सञ्चालन गरेको भन्ने सूचना प्राप्त हुन आएको र त्यस्ता गतिविधिहरू संक्रमणको स्थितिलाई भयावह बनाउने किसिमका भएको प्रशासनको विज्ञप्तीमा उल्लेख छ । प्रशासनले यति प्रदर्शन गरेको पाइएमा स्थानीय प्रशासन ऐन २०२८ र संक्रामक रोग ऐन २०२० बमोजिम कारवाही गर्ने पनि चेतावनी दिएको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board