कोरोना खोप लगाएपछि पनि मास्क लगाउनुपर्छ !

अमेरिकी कम्पनी फाइजर र मोडर्नाले आफूले विकास गरेको खोप कोरोना महामारी नियन्त्रणका लागि निकै प्रभावकारी हुने दाबी गरेका छन् ।

तर खोपले कोरोना संक्रमण कति प्रभावकारी रुपमा नियन्त्रण गर्छ भन्ने स्पष्ट भइसकेको छैन । किनकी दुवै कम्पनीले ट्रायलका क्रममा भ्याक्सिन लगाएका कति मानिस कोभिड–१९ का कारण बिरामी भए भनेर मात्र हेरेका छन् ।

यसले कोरोना खोप लगाएका मानिसहरु लक्षणविना संक्रमित भइरहेको हुनसक्ने सम्भावना रह्यो । साथै उनीहरुले अन्य मानिसहरुलाई पनि भाइरस सार्नसक्ने सम्भावना भयो । त्यसैले खोप लिएका मानिसले अन्य मानिसको सम्पर्कमा आउँदा मास्क लगाउन छाडे भने थाहै नपाई यो संक्रमण अन्य मानिसहरुमा सर्न सक्छ ।

‘धेरै मानिसलाई खोप पाएपछि मास्क लगाउन छाड्न पाइन्छ भन्ने लागेको छ’, स्ट्यानफोर्ड युनिभर्सिटीका रोग प्रतिरक्षाविद् मिचल टाल बताउँछन्, ‘तर उनीहरुले के बुझ्नुपर्छ खोप लगाएपछि पनि आफूबाट अन्यमा संक्रमण फैलिने जोखिम हुन्छ ।’

श्वासप्रश्वाससम्बन्धी अधिकांश संक्रमणमा जस्तै नयाँ कोरोना भाइरस शरीरमा प्रवेश गर्ने मुख्यतः नाकबाटै हो । भाइरस त्यहाँ उल्लेख्य मात्रामा विस्तार हुनसक्छ र, शरीरको प्रतिरोधी क्षमतासँग टकराव हुन्छ र शरीरले एन्टिबडी बनाउँछ । मानिसको शरीरमा नाक, मुख, फोक्सो र पेटलाई जोड्ने घाँटीको भागमा म्युकोसा हुन्छ । म्युकोसामा रहेको एन्टीबडीले भाइरसलाई पहिचान गरेर नष्ट गरिदिन्छ र शरीरमा भाइरस फैलिनबाट बचाउँछ ।

जबकी कोरोना खोप पाखुराको मांशपेशीमा दिइन्छ र शरीरमा एन्टिबडी विकास हुन्छ । यही एन्टीबडीले बिरामी हुनबाट बचाउँछ । एन्टिबडी म्युकोसासम्म पनि पुग्छ तर, कति मात्रामा पुग्छ र कति छिटो पुग्छ भन्ने स्पष्ट हुन सकेको छैन । त्यसैले खोप लगाएको व्यक्तिको नाकबाट भाइरस प्रवेश गरेर म्युकोसामा पुगेको छ तर एन्टीबडीले नष्ट गरिनसकेको रहेछ भने हाच्छ्यूँ गर्दा वा सास फेर्दा भाइरस बाहिर निस्किछ र अरुलाई संक्रमित हुने सम्भावना हुन्छ ।

खोप परीक्षणको नतिजा सार्वजनिक गर्दा खोप लगाएका, तर लक्षण विनाको संक्रमण भेटिएका मानिसको तथ्यांक सार्वजनिक गरिँदैन । यद्यपि केही संकेत भने पाइएको छ ।

अक्सफोर्ड युनिभर्सिटीसँग मिलेर खोप विकास गरेको एक्स्ट्राजेनेकाले आफ्नो परीक्षण केही नतिजा गत नोभेम्बर महिनामा सार्वजनिक गरेको थियो । जसमा कम्पनीले आफ्ना स्वयंसेवकहरुले निरन्तर कोरोना परीक्षण गराएको र खोप केही संक्रमण नियन्त्रणका लागि प्रभावकारी देखिएको बताएको थियो ।

फाइजरले आफ्नो परीक्षणमा सहभागी भएका मानिसहरुको भाइरस प्रोटिन ‘एन’ विरुद्धको एन्टिबडी जाँच गराएको थियो । एन एन्टिबडीले खोप लिएकाहरु संक्रमित भए कि भएनन् भन्ने थाहा पाउनसक्ने कम्पनीका प्रवक्ता नजेरिका पिट्सले बताइन् । जबकी कम्पनीको खोपको ‘एन’ प्रोटिनसँग कुनै सम्बन्ध हुँदैन ।

मोडर्नाले पनि ट्रायलका क्रममा स्वयंसेवकहरुको एन–एन्टिबडी परीक्षण गराएको थियो ।

तीन वटै कम्पनीले खोपको ट्रायलमा सहभागीहरुको परीक्षण केवल रगतबाट मात्र गरिएको छ । भ्याक्सिल नलगाएकाहरुको म्युकोसामा एन्टिबडी भए नभएको परीक्षण भएको छैन ।

युनिभर्सिटी अफ एरिजोनाका प्रतिरक्षाविद् दीप्त भट्टाचार्य भने पछिल्ला केही अध्ययनले नाक र घाँटीमा पनि पर्याप्त मात्रामा एन्टिबडी बनाउन खोपले सहयोग गर्ने देखाएको भन्दै खोपले कोरोना संक्रमण नियन्त्रण गर्नेमा आशावादी छन् ।

त्यसमा सहमत येल युनिभर्सिटीकी प्रतिरक्षाविद् अकिको इवासाकी भन्छिन्, ‘खोपबाट एकपटक प्रतिरोधी क्षमता पाउनुभयो भने तपाईं संक्रमित हुने सम्भावना कम हुन्छ । संक्रमितलाई नै खोप लगाइदिने हो भने उसको नाकमा वृद्धि भइरहेका भाइरसको संख्या घट्छ ।’

कतिपय विशेषज्ञहरुले भने भोलिका दिनमा नाकबाट दिन मिल्ने कोरोना खोप आउनसक्ने बताएका छन् । किनकी नोजल स्प्रे फ्लुमिस्ट वा मुखबाट खुवाइने पोलियो थोपाजास्ता खोप श्वासप्रश्वासबाट लाग्ने रोगहरुमा बढी प्रभावकारी पाइएको छ । वा मानिसको नाक र घाँटीमा एन्टिबडी विकास गर्ने किसिमको खोप पनि आउनसक्छ ।

केही अध्ययनले लक्षण नदेखिएका संक्रमितको नाकमा पनि ठूलो संख्यामा भाइरस पाइएको देखाएका छन् । हङकङमा दोस्रो पटक कोरोना संक्रमण भएका ३३ वर्षीय पुरुषमा कुनै लक्षण देखिएको थिएन तर अन्य मानिसलाई संक्रमण सार्नसक्ने भाइरस उनको शरीरमा थियो । विशेषज्ञहरुका अनुसार भाइरल लोड धेरै भएका, तर कुनै लक्षण नदेखिएका मानिसहरु कोरोना संक्रमण फैलाउन सहायक हुने गर्छन् । डाक्टर टालका अनुसार बाँदरमा गरिएको अध्ययनको क्रममा केही खोपले जनावरहरुलाई बिरामी नगराएको, तर उनीहरुको नाकमा भने यो भाइरस बाँकी रहेको पाइएको थियो । यद्यपि यी बाँदरहरुमा जानाजान धेरै भाइरस पठाइएको थियो र त्यति गर्दा पनि उनीहरुमा खोप नलगाइएका जनावरको तुलनामा कम भाइरस देखिएको न्युयोर्कस्थित वेइल कोर्नेल मेडिसिनका संक्रामकरोग विशेषज्ञ जोन मूरेले बताए । ‘जति धेरै भाइरल लोड घटाउन सक्यो, तपाईंबाट अन्यमा यो संक्रमण सर्ने सम्भावना त्यति कम हुन्छ’, उनले थपे, ‘यद्यपि यी सबै कुराहरु तथ्यांक नभएका सैद्धान्तिक कुराहरु हुन्, सबैभन्दा पहिला हामीलाई तथ्यांक चाहिएको छ ।’

स्रोत : न्युयोर्क टाइम्स

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board