प्रधानमन्त्री ओली समक्ष बरिष्ठ नेता नेपालका ६ शर्त

१‍‍. पार्टी फुटाउने उद्देश्यले राखिएको प्रस्ताव अस्वीकार्य छ । अध्यक्ष वा प्रधानमन्त्री पदको प्रस्ताव पार्टी विभाजनको उद्देश्यले आउनु हुन्न । पूर्वएमाले मिलेर पूर्वमाओवादीलाई पेल्ने नियत राख्नै हुन्न ।

जनताको बहुदलीय जनवाद (जबज) को कार्ड फालेर पूर्वमाओवादीलाई पेल्ने रणनीति कार्यान्वयन गर्न ओलीले पदको लोभ देखाएको नेपालको निष्कर्ष छ । नेता नेपालले पार्टी एकता प्रक्रिया पूरा नभइसकेको अवस्थामा प्रचण्डलाई अप्ठ्यारोमा पारेर आफू प्रधानमन्त्री बन्न नसक्ने निकटस्थहरुलाई बताउने गरेका छन् । सबै पक्षलाई समेटेर पार्टी एकता कायम गर्नेगरी प्रस्ताव आउनुपर्ने उनको अडान छ ।

२. हाताहाती गरौं, उधारो सहमति हुँदैन । सत्तामा शक्ति सन्तुलन मिलाउनेदेखि पार्टीलाई क्रियाशील बनाउनेसम्मका विषयका सहमति उधारो हुन नहुने नेपालको अडान छ । उनले भनेका छन्–जे गर्ने हो, अहिले नै गर्नुपर्छ । उधारो हुँदैन ।

३. मौखिक हुन्न, लिखित हुनुपर्छ । विगतका लिखित सहमतिहरु नै अलपत्र पारेर पार्टीलाई संकटतिर धकेल्ने काम भएकाले अबको सहमति लिखित हुनुपर्ने नेपालको अडान छ । उनका अनुसार, यो शर्त माने मात्र थप छलफल हुन्छ । अब अनौपचारिक हैन, पार्टी कमिटीको लिखतमा निर्णय हुनुपर्छ र त्यो कार्यान्वयनमा जानुपर्छ ।

४. न्यायको प्रत्याभूति, पूर्वाग्रहको अन्त्य । तत्कालीन एमालेको नवौं महाधिवेशनयता लगातार पार्टीको नेतृत्वबाट पूर्वाग्राही निर्णय भएको नेपालको धारणा छ । पार्टी जिम्मेवारी र राजकीय भूमिकामा ओलीले इतर समूहलाई लगातार किनारा पार्ने र नामै सुन्न नचाहने प्रवृत्ति देखाएको नेता नेपालको निष्कर्ष छ ।

उनको भनाइ छ, पार्टीमा गुट छ । कुनै गुट नजिक भएकै कारण कसैले संरक्षण नपाउने भन्ने हुँदैन । केपी ओलीलाई साथ दिनेमध्ये पनि सवैले संरक्षण नपाएकाले न्यायको प्रत्याभूति र पूर्वाग्रहको अन्त्य हुनपर्छ ।

५. सहमति/निर्णय नमान्नेको विपक्षमा उभिनुपर्छ । सहमतिको प्रस्ताव लिएर आउने नेताहरुलाई नेपालले सोध्ने गरेका छन्–ओलीले सहमति पालना गरेनन् भने तपाईंहरु मेरो एजेण्डाको पक्षमा सार्वजनिक रुपमा बोल्नुहुन्छ ? त्यो सकिँदैन भने पहिले केपीजीको विश्वास जितेर आउनुहोस् ।

६. सहमति/निर्णय नमान्ने जुनसुकै नेताको विपक्षमा बोल्न सक्नुपर्छ । जुनसुकै खेमामा संलग्न भएपनि पार्टी निर्णय उल्लङ्घन गर्नेविरुद्व बोल्न तयार हुनुपर्छ ।

माधव नेपालको अन्तिम शर्त छ– सहकर्मी कमरेडहरुलाई धोका दिन्न । आफ्नो एजेण्डा, कार्यक्रम र अडानको पक्षमा रहेका नेताहरुलाई धोका दिएर अर्को कुनै प्रस्ताव स्वीकार गर्दिनँ । उनले भन्ने गरेका छन्, ‘पार्टीलाई विधि–पद्दतिमा चलाउनुपर्छ, गतिशील बनाउनुपर्छ भन्ने एजेण्डामा साथ दिने कमरेडहरुलाई धोका दिएर कुनै सहमति गर्दिनँ । कसैलाई अन्याय हुन दिन्न ।’

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board