देउवाको प्रश्नः प्रधानमन्त्री ओली नै राजावादीसँग मिलेको त होइन ?

काठमाडौं, २९ मंसिर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले राजावादीहरुको आन्दोलनका लागि ओली सरकार नै जिम्मेवार रहेको बताएका छन् । उनले सरकारकै कारण सडकमा ‘राजा आऊ देश बचाऊ’ को नारा लागेको बताएका हुन् ।

हेटौंडामा सरकारविरुद्ध सोमबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै देउवाले भने, ‘ओली नै तत्कालिन राजासँग मिलेको भए थाहा छैन । होइन भने कसरी आन्दोलन भएको छ ?’ देउवाले सडकमा ‘राजा आऊ, देश बचाऊ’ भन्दै कराउने हिम्मत कहाँबाट आयो भन्ने प्रश्नसमेत गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओली नै राजावादीसँग मिलेको त होइन भन्ने देउवाले आशंका गरेका छन् ।

देउवाले भने, ‘कसैलाई भ्रम नहोस्, राजा आउने छैन ।’ प्रजातन्त्रको खिलाप जानुहुन्न भन्दा तत्कालिन राजाले आफूलाई थुनेको स्मरण गर्दै उनले राजाले प्रजातन्त्रलाई नसहेका कारण आफूहरु गणतन्त्रको पक्षमा उभिएको बताए ।

उनले एकदलीय सर्वसत्तावादी शासन लागू गर्न खोजेको भन्दै सरकारको चर्को आलोचना गरे । देउवाले कोरोनाको जोखिम रहेको बेला यसरी जनता भेला गर्ने, दुःख दिन नचाहेको तर बाध्य भएर विरोधसभा गरेको भन्दै क्षमसमेत मागे । उनले भने, ‘ढुंगा हान्ने, सडक बन्द गर्ने हाम्रो उद्देश्व होइन। तर आज बाध्य भएर गरिराखेका छौं, यसका लागि माफी चाहन्छौ,’ । देउवाले संविधान कार्यान्वयन गर्ने र यही व्यवस्थालाई थप प्रजातान्त्रिक बनाउँदै सफल पार्ने बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board