सर्वदलीय बैठक सम्पन्न : संसद विघटन संविधानमाथिको आक्रमण

काठमाडौं, ६ पुस । नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक सम्पन्न भएको छ । संसद विघटन गर्ने सरकारको कदमबारे छलफल गर्न सानेपामा बसेको सर्वदलिय बैठकले संसद विघटन संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको छ ।

नेपाली कांग्रेसको आह्वानमा उसैको पार्टी कार्यालय सानेपामा बसेको नेपाल कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टीसहितको सर्वदलीय बैठकले संसद विघटन संविधानमा हुँदै नभएको प्रावधानमा टेकेर गरिएको भन्दै यो संविधानमाथिको आक्रमण भएको निश्कर्ष निकालेको हो ।

बैठकले यसविरुद्ध प्रतिवाद गर्ने भन्ने निश्कर्ष पनि निकालेको नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । तर कसरी प्रतिवाद गर्ने भन्नेबारे भने मंगलबार तीनवटै पार्टीको केन्द्रीय कमिटीको बैठक रहेकाले उक्त बैठकमा छलफल गरेपछि पुनः बैठक बस्ने सहमति भएको श्रेष्ठले बताए ।

बैठकमा नेकपाबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेताद्वय झलनाथ खनाल , माधवकुमार नेपाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, नेता वर्षमान पुन, पम्फा भुसाल काँग्रेसबाट सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय मिनेन्द्र रिजाल, रमेश लेखक, जसपाका अध्यक्ष महन्थ ठाकुर, शरदसिंह भण्डारी र जितेन्द्र सोनल सहभागी भएका थिए । नेकपाका बरिष्ठ नेता माधव नेपाल भने बैठक नसकिँदै बाहिरिएका थिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board