निर्वाचन आयोगमा प्रचण्ड-नेपाल समूहको हस्ताक्षर र निर्णयहरु पेस

काठमाडौं, ८ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रचण्ड-नेपाल समुहले आफ्नो पक्षमा रहेको पार्टीका २८७ जना केन्द्रीय सदस्यको हस्ताक्षर निर्वाचन आयोगमा बुझाएको छ ।

प्रचण्ड-नेपाल समूहले मंगलबार बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरू निर्वाचन आयोगमा बुझाएको हो । बुधबार केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र मुक्तिनारायण प्रधानसहितको टोलीले निर्वाचन आयोगमा गई प्रधानमन्त्री केपी शर्मा ओलीलाई अध्यक्षबाट निस्कासन गरेको लगायत निर्णयहरु पेस गरेको हो ।

आयोगमा बुझाएको पत्रमा नेकपाको ४४७ सदस्यीय केन्द्रीय कमिटीका २९० जनाको नाम उल्लेख गरिएको छ । जसमध्ये २८७ जनाको हस्ताक्षर समावेश रहेको छ । अरू ३ जना उपत्यकाबाहिर रहेकाले हस्ताक्षर समावेश नभएको नेता पाण्डेले जानकारी दिए ।

बुधबार बसेको प्रचण्ड-माधव समूहको बैठकले अध्यक्ष ओलीलाई अनुशासनको कारबाही गरी अध्यक्षबाट निस्कासन गर्ने र माधवकुमार नेपाललाई अध्यक्ष चयन गर्ने निर्णय गरेको थियो । सोही निर्णय सो समूहले निर्वाचन आयोगमा बुझाएको हो ।

यसअघि मंगलबार केपी ओली पक्षले नेकपाको केन्द्रीय कमिटी ४४७ सदस्यीयबाट विस्तार गरेर ११९९ सदस्यीय बनाएको भनी निर्वाचन आयोगमा जानकारी गराएका थिए । नेकपाको दुवै पक्षले आआफ्नो दावीसहित आयोगमा पत्र पठाएपछि आयोगले अब कुन समूह बैधानिक हो भन्ने निर्णय दिनुपर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2025 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board