काठमाडौँमा आज यस वर्षकै बढी चिसो, यस्तो छ समग्र देशको अवस्था

काठमाडौँ , ११ पोष । काठमाडौँ उपत्यकामा आज यस वर्षकै बढी चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार शनिबार काठमाडौँको न्यूनतम तापक्रम यस वर्षकै कम १ दशमलव ३ डिग्री सेल्सियस मापन गरिएको छ । यसअघि शुक्रबार काठमाडौँको न्यूनतम तापक्रम २ दशमलव २ डिग्री सेल्सियस थियो ।

अबको केही दिन देशभरको तापक्रम निरन्तर घट्ने सम्भावना रहेको मौसमविद् शान्ति कँडेलले जानकारी दिए । “राति आकाश खुला भए बिहानको तापक्रम घट्ने र राति बदली भए तापक्रम बढ्ने हुन्छ”, उनले भने । यस वर्ष काठमाडौँको न्यूनतम तापक्रम शून्य डिग्रीसम्म पुग्ने मौसमविद्को अनुमान रहेको छ ।

विभागले सूचना जारी गर्दै चिसो रहरिहने तथा तराई/पहाडी भूभागका केही स्थानमा बिहानीपख हुस्सु÷कुहिरोका कारणले वायुको पारदर्शितामा कमी हुन गई सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध गरेको छ ।

विभागको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १ दशमलव ३ डिग्री र अधिकतम तापक्रम १९ दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ६ दशमलव ४ डिग्री र सबैभन्दा धेरै धनकुटाको न्यूनतम तापक्रम ७ दशमलव २ डिग्री सेल्सियस रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board