नेकपा विभाजित भएपछि चिनियाँ कम्युनिष्ट पार्टी अप्ठेरोमा, यान्छीको भेटले दिल्लीमा तरंग

काठमाडौं, १२ पुष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) यतिबेला विभाजित बनेको छ । प्रधानमन्त्री एवंम नेकपा अध्यक्षसमेत रहेका केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संसद् विघटन गरेर चुनावको घोषणा गरेसँगै नेकपा विभाजित हुन पुग्यो ।

सरकारको सो कदमले नेपालको पछिल्लो राजनीतिक अवस्थालाई निकै गम्भिर मोडमा लगेको छ । राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीको सर्वत्र आलोचना र विरोध भईरहेको छ ।

नेकपा औपचारिक रूपमै विभाजन भएपछि चिनियाँ कम्युनिस्ट पार्टीले पनि नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे निकै गम्भिर रुपमा हेरेको बुझिन्छ । यसैबीच आज (आइतबार) आफ्नो अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा एक उच्च प्रतिनिधिमण्डल काठमाडौं आउँदैछन् ।

आज काठमाडौं आइपुग्ने चिनियाँ कम्युनिस्ट पार्टीको टोलीले नेपालमा ४ दिनसम्म रहेर खासगरी नेकपा विभाजनका कारण खोतल्ने प्रयास गर्ने स्रोतको भनाई छ । नेकपाको करिब दुईतिहाइ बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीन अचानक प्रतिनिधिसभा विघटन भएर पार्टी नै विभाजित बनेपछि चिन्तित् बनेको बुझिन्छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्रीउपमन्त्री गुओ नेतृत्वको प्रतिनिधिमण्डलले पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल तथा प्रधानमन्त्री केपी शर्मा ओलीसहितका नेकपा नेताहरूसँग भेटवार्ता गर्ने तय भएको बताइएको छ ।

गुओ येचौ ३३ वर्षदेखि चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागमा कार्यरत छन्। यसबीच बुल्गेरियाका लागि चिनियाँ राजदूत पनि बनेका उनी सन् २०१४ देखि अन्तर्राष्ट्रिय विभागमा उपमन्त्री बनेका हुन्।

विभागका ४ उपमन्त्रीमध्ये गुओ सबैभन्दा वरिष्ठ हुन्। अन्तर्राष्ट्रिय विभागका मन्त्री सोङ ताओ छन्, जो राष्ट्रपति सी चिनिफङको भ्रमण तयारी क्रममा गत वर्ष नेपाल आएका थिए।

भारतीय गुप्तचर संस्था रअका प्रमुख सामन्तकुमार गोयलपछि सेना प्रमुख, विदेश सचिव र सत्तारुढ भाजपाका नेताको भ्रमणलगत्तै नेपालमा संसद् विघटन र नेकपा विभाजन भएपछि चीनले चासोका साथ हेरिरहेको छ ।

यस्तै, नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपालका राजनीतिक दलका शिर्ष नेताहरुसँगको भेटघाटलाई तिब्र बनाएपछि दिल्ली भने तरंगित बनेको छ । राजदुत यान्छीले राष्ट्रपति विद्यादेवी भण्डारीदेखि नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुवै समूहका शीर्ष नेताहरुलाई भेटिरहेकी छन् ।

उनको यो भेटले नयाँ दिल्लीमा भने तरंग सिर्जना गरेको बुझिएको छ । भारतका प्रमुख सञ्चार माध्यमहरुले उनको भेटलाई निकै प्राथमिकताका साथ प्रकाशित गरेका छन् । उनको नेपाली नेताहरुसँगको भेटले नयाँ दिल्लीमा एक खालको तरंग सिर्जना गरेको छ ।

यो पनि पढ्नुहोस्…

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board