काठमाडौं १५ पौष । गुरुङ समुदायले पुरानो वर्गलाई बिदाइ गरी आजदेखि नयां वर्गको स्वागत गरेर तमू ल्होछार धूमधामका साथ मनाउंदै छ ।
तमु भाषामा ल्हो को अर्थ वर्ग र छारको अर्थ नयां भन्ने हुन्छ । ल्होछार नयां वर्गको स्वागत गर्ने र पुरानोको बिदाई गर्ने चाड हो । यसलाई नया“ वर्षको रुपमा पनि मनाइन्छ । तमू संस्कृति अनुसार पुस १५ गते खुशीसाथ सामूहिक भोज, सांस्कृतिक कार्यक्रम एवं नाचगान गरेर यो चाड मनाउने गरिन्छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहु“, स्याङ्जा, मनाङ, कास्की, पर्वतमा मात्र नभएर अहिले तमू बसोबास रहेको पूर्वी जिल्लाहरुमा समेत ल्होछार मनाउने गरिन्छ ।
पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको संस्कृतिविदहरुको भनाइ छ । यस पर्वको अवसरमा सरकारले तमु ल्होछार मनाउनेलाई मात्र बिदा दिएको छ । तमु अर्थात गुरुङ समुदायको बाहुल्य रहेको गण्डकी प्रदेशमा आज सार्वजनिक विदा दिइएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पुथ्वीसुब्बा गुरुङले तमु ल्होछारको अवसरमा शुभकामना व्यक्त गरे ।
ल्होछारको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवाले शुभकामना व्यक्त गरे । उनीहरुले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं भौगोलिक विविधतायुक्त हाम्रो देशमा यस्ता मौलिक पर्वको ठूलो महत्व रहेको बताए ।
यसैगरी, मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन आज याक्खाको चासुवा, सुनुवारको फोलस्यादर, राईको उधौली सकेला र लिम्बूहरूको चासोक तङ्नाम धुमधामसंग मनाइदैछ ।
तीन दिनअघि शुरु भएको पर्वको पहिलो दिन लिम्बूहरुले चासोक तङ्नाम पर्व मनाएका थिए भने आज संयुक्तरूपमा सबैले उधौली सकेला अर्थात् किरात पर्व मनाउछन् । किरात संस्कृतिका बारेमा अनुसन्धानरत कीर्तिकुमार दुमी राई किरा“तभित्रका जातजातिले यो पर्वलाई फरक फरक नाम दिए पनि समग्रमा उधौलीका नामले मनाइन्छ । किरात समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूहरूले चासोक तङ्नाम भन्छन् । बाली लगाउने बेलामा भने किरा“त जातिमा उभौली अर्थात् यावा पर्व मनाइने प्रचलन छ ।
भूमि पूजाका लागि बिहानैदेखि किरात महिला तथा पुरुष जातीय वेषभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धान नाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन् । पर्व र रीतिरिवाज एउटै भए पनि आ–आफ्नो भाषाअनुसार पर्वलाई पुकार्ने चलन छ । वैशाख पूर्णिमामा उभौली पूजा गरेका किरांतले आज उधौली पूजा गरेपछि माथिबाट तल झर्ने गर्छन् । कतिपय समुदायले भने आजै कूल परम्पराअनुसार दिवाली वा कुलदेवताको पूजा आराधना गरी धान्य पूर्णिमा पर्व मनाउंछन् ।
COMMENTS