विमानस्थलमा भेटिएको ५० राउण्ड गोली प्रहरीकै !

काठमाडौं, २० पुष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भेटिएको ५० राउण्ड गोली प्रहरीकै हुनसक्ने देखिएको छ । विमानस्थल सुरक्षा स्रोतका अनुसार गोली प्रहरीकै ज्याकेटमा रहेको र पक्राउ परेका व्यक्तिका बुबा पूर्वप्रहरी रहेको खुलेको हो ।

पूर्वप्रहरी नायव निरीक्षक (सई) रामचन्द्र राईको प्रहरी पोशाकमा उक्त गोली फेला परेको थियो । उनका छोरा झापा मेचीनगरका २० वर्षीय बद्रीहाङ राई र श्रीमती मुनादेवी राईले घर जाँदा रामचन्द्रको ज्याकेट लगाएका थिए । तर उनीहरुले ज्याकेटको गोजीमा गोली भएको थाहा नपाएको बताएका छन् । रामचन्द्रले ज्याकेट ल्याइदिन भनेकाले उनीहरुले लगेजमा ज्याकेट लगेका थिए । विमानस्थलमा सुरुमै ब्याग स्किनिङ गर्ने क्रममा शंकास्पद वस्तु देखिएपछि प्रहरीले चेकजाँच गरेको थियो । त्यसक्रममा गोली रहेको पुष्टि भएको हो ।

उनीहरु १२ बजेर ३५ मिनेटमा श्री एयरलाइन्सको उडानबाट झापाको भद्रपुर जान लागेका थिए । रामचन्द्र केही वर्ष पहिले मात्रै नेपाल प्रहरीबाट अवकाश भएका हुन् । उनको ज्याकेटको गोजीमा कसरी गोली रह्यो भन्नेबारे प्रहरीले अनुसन्धान थालेको छ । उक्त गोली एसएमजी (सर्ट मेसिन गन) र पेस्तोलमा प्रयोग हुन्छ । नेपाल प्रहरीले समेत सोही गोली प्रयोग गर्ने गरेको छ ।

नेपाल प्रहरीले प्रयोग गर्ने गरेको गोली र पूर्वप्रहरीकै ज्याकेटमा भेटिएको हुँदा राईले आफू सेवामै रहँदा ती गोलीहरु कुनै ढंगबाट राख्न सफल भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । पक्राउ परेका बद्रीहाङलाई अहिले गौशाला वृत्तमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board