जर्जियाका दुई सिनेटर डेमोक्र्याटिक पार्टीको पोल्टामा


काठमाडौं, २३ पुस । जर्जियाबाट सिनेटर निर्वाचित भएका ओसफ र वार्नक।जर्जियाबाट सिनेटर निर्वाचित भएका ओसफ र वार्नक। अमेरिकाको माथिल्लो सदन सिनेटमा पनि डेमोक्र्याटिक पार्टीले बहुमत बनाएको छ।

मंगलबार भएको जर्जिया राज्यका दुई सिनेटको पुनस् निर्वाचन डेमोक्र्याटिकका उम्मेदवार विजयी भएपछि सिनेटमा डेमोक्र्याटिक सिनेटरको संख्या ५० पुगेको हो। मंगलबारको चुनावमा डेमोक्र्याटिक उम्मेदवारहरू राफायल वार्नक र जोन ओसफले रिपब्लिकन पार्टीका बहालवाला सिनेटरलाई हराएका हुन्। जर्जियाबाट सिनेटर निर्वाचित हुने वार्नक काला जातिका पहिलो व्यक्ति हुन्।

जर्जियाको जितसँगै डेमोक्र्याटिक राष्ट्रपति जो बाइडेनले आफ्ना नीति र कार्यक्रम रिपब्लिकनको सहायताबिनै लागू गर्न सक्ने भएका छन्। सिनेटमा दुबै पक्षको ५०/५० संख्या भएमा उपराष्ट्रपतिले निर्णायक मतदान गर्न पाउने व्यवस्था छ। उपराष्ट्रपति सिनेटको सभापतिको भूमिका हुन्छन्।

कुनै प्रस्तावमा बराबर मत आएको अवस्थामा उपराष्ट्रपति कमला ह्यारिसले बाइडेन प्रशासनको प्रस्तावका पक्षमा मतदान गरेर सदनबाट पास गराउन सक्छन्।

गत नोभेम्बरमा भएको चुनावमा कुनै पनि पार्टीका उम्मेद्वार ५० प्रतिशत मत ल्याउन नसकेपछि जर्जियामा मंगलबार फेरि चुनाव भएको हो। जर्जियाको कानुनअनुसार सिनेटर निर्वाचित हुन खसेको मतको ५० प्रतिशत कटाउनै पर्छ।

दक्षिणी राज्य जर्जियामा सन् १९९२ पछि पहिलो पटक डेमोक्र्याटिक पार्टीका राष्ट्रपति उम्मेदवारले जितेका हुन्।

बाइडेनले जनवरी २० मा राष्ट्रपतिको पद सम्हाल्दै छन्। जलवायू परिवर्तन, आप्रवासी आगमन र पूर्वाधार निर्माणमा बाइडेनले ट्रम्प प्रशासनभन्दा फरक तरिकाले काम गर्ने बताएका छन्।


उनले जलवायू परिवर्तनको असर वास्तविक भएको र अमेरिकी आप्रवासीका लागि खुला हुनुपर्ने आवाज उठाउँदै आएका छन्।

तल्लो सदनमा डेमोक्र्याटिक पार्टीले नोभेम्बरको चुनावबाट यसअघिको बहुमतलाई कायम राखेको थियो। यद्यपी उसको सिट भने अघिल्लो पटकभन्दा यसपालि घटेको छ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board