वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हार स्वीकार गरेका छन् । अहिलेसम्म चुनावमा धाँधली भएको आधारहीन दाबी गर्दै आएका ट्रम्पले यस पटक भने आफ्नो हार स्वीकार गरेका छन् ।
ट्रम्पले ट्विटरमा भिडियो पोस्ट गर्दै भविष्यमा हुने चुनाव निष्पक्ष रुपमा हुने विश्वास व्यक्त गरेका छन् । ट्रम्पले भनेका छन्, ‘कंग्रेसले चुनावी नतिजा प्रमाणित गरिसकेको छ । अब नयाँ प्रशासनले जनवरी २० मा आफ्नो जिम्मेवारी सम्हाल्दैछ । अब मेरो सबै ध्यान शान्तिपूर्ण र विधिपूर्वक रुपमा सत्ता हस्तान्तरमा केन्द्रित हुनेछ ।’
ट्रम्पले वासिङ्टनमा भएको हिंसात्मक प्रदर्शनले आफूलाई आक्रोशित बनाएकोसमेत बताएका छन् । बुधबार सुरु भएको हिंसात्मक प्रदर्शनलाई रोक्न आफूले तत्काल नेसनल गार्ड र संघीय सुरक्षा निकायलाई परिचालन गरेको पनि ट्रम्पले दाबी गरेका छन् ।
ट्रम्पले ट्विटरमा भनेका छन्, ‘अमेरिका सधैँ कानुन र व्यवस्थाको देशका रुपमा रहेको छ । क्यापिटल हिल्समा भएको हिंसात्मक प्रदर्शन र आक्रमणमा सहभागी व्यक्तिले अमेरिकालाई प्रतिनिधित्व गर्दैनन् । तिनीहरुले त्यसको मूल्य चुकाउनुपर्छ,’ ।
अमेरिकामा भर्खरै सनसनीपूर्ण चुनाव भए पनि त्यसलाई अब शान्त पार्नुपर्ने पनि राष्ट्रपति ट्रम्पले बताएका छन् । आफ्नो चुनावी क्याम्पेनले सधैँ अमेरिकी प्रजातन्त्रका लागि लडेको र मतदाताको वैधताका बारेमा प्रश्न उठाएको उनको भनाई छ । डेमोक्रेटिक सांसदहरुले ट्रम्पले हिंसालाई उक्साएको र अझै उक्साउन सक्ने उल्लेख गर्दै अमेरिकी संविधानको २५औं संशोधनमार्फत उनलाई हटाउनुपर्ने माग गरिरहेका बेला ट्रम्पको वक्तव्य आएको हो । ट्रम्पको कार्यकाल सकिन १३ दिन मात्रै बाँकी रहेको छ ।
राष्ट्रपति ट्रम्पले अबको समय पीडामा ‘मलम लगाउने र मेलमिलाप’ को भएको पनि बताएका छन् । सन् २०२० महामारीले गर्दा हजारौंको ज्यान गएको र निकै दुःखदायी भएको बताउँदै अब सबै मिलेर यसले विभिन्न क्षेत्रमा पुऱ्याएको क्षतिलाई पुनः उकास्ने समय आएको पनि उनले बताएका छन् । अमेरिकी कंग्रेस संसद्को संयुक्त बैठकले डेमोक्रेटिकका जो बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको प्रमाणित गरेको छ । नोभेम्बर ३ मा भएको चुनावमार्फत बाइडेनसँगै उपराष्ट्रपतिमा कमला ह्यारिस निर्वाचित भएकी थिइन् ।
संसद्ले प्रमाणित गरेपछि अब बाइडेन तथा ह्यारिसलाई पदभार ग्रहण गर्ने बाटो खुलेको छ । उनीहरूले जनवरीमा २० मा कार्यभार सम्हाल्नेछन् । बाइडेनले ३०६ र वर्तमान राष्ट्रपति ट्रम्पले २३२ इलेक्टोरल कलेज मत प्राप्त गरेका उपराष्ट्रपति माइक पेन्सले अमेरिकी कंग्रेसमा घोषणा गरेका हुन् । राष्ट्रपतिमा निर्वाचित हुन् २७० इलेक्टोरल कलेज मत आवश्यक पर्छ ।
बाइडेन र ह्यारिसको जित प्रमाणीकरणको प्रक्रिया सुरु हुनै लाग्दै ट्रम्प समर्थकहरू हतियारसहित क्यापिटल हिल भवनमा प्रवेश गरेका थिए । हिंसात्मक प्रदर्शनहरूका कारण एक जना प्रहरीसहित ५ जनाको ज्यान गएको वासिङ्टन प्रहरीले जनाएको छ । एक जनाको प्रहरीको गोलीले र अन्य तीन जनाको मेडिकल इमर्जेन्सीका कारण मृत्यु भएको जनाइएको छ ।
यो पनि पढ्नुहोस्…
COMMENTS