ओली सच्चिने अवसर छ, प्रतिनिधिसभा सुचारु गरे संविधान ट्रयाकमा आउँछः नारायणकाजी

काठमाडौं, २४ पुष । राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले प्रधानमन्त्री ओलीलाई अझै पनि सच्चिने अवसर रहेको बताएका छन् । राष्ट्रियसभाको शुक्रबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै उनले भने, ‘असंवैधानिक कदमप्रति आत्मालोचित हुँदै प्रतिनिधिसभा सुचारु गर्नेतिर आउनुभयो भने संविधान ट्रयाकमा आउँछ र नयाँ सिलसिला सुरु हुन्छ ।’

नेकपाको प्रचण्ड–माधव समूहका प्रवक्ता समेत रहेका श्रेष्ठले संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले संविधानअनुसार फैसला गर्ने विश्वाससमेत व्यक्त तर । तर, सर्वोच्चले संविधान संशोधन गर्ने गरी फैसला गर्‍यो भने संविधान नै कागजको खोस्टामा परिणत हुने उनले चेतावनीसमेत दिए ।

संविधानको ठाडो उल्लंघन गरेर प्रतिनिधिसभा विघटन गर्ने कदम चालिएको बताउँदै नेता श्रेष्ठले भने, ‘तत्कालको प्रतिगामी कदम मात्र होइन, समग्र प्रतिगमनको आधार तयार गर्ने त होइन भन्ने शंका पैदा भएको छ,’ उनले भने ।

राजनीतिक स्थिरता कायम गर्न संसद भंग गर्न नदिने भनेर राष्ट्रिय राजनीतिक सहमतिका साथ संविधान बनेको र प्रधानमन्त्रीलाई विशेषाधिकार नदिइएको उनको भनाई छ । नेता श्रेष्ठले यो मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको र संविधान अन्तरगत नै फैसला आउने विश्वास व्यक्त गरे । ‘संवैधानिक अंगको भूमिकाप्रति विश्वस्त छौं,’ उनले भने, ‘तर अदालतलाई संविधान संशोधन गर्ने अधिकार दिइएको छैन, संविधानअनुसार फैसला लिने हो ।’

संविधानमा हुँदै नभएको प्रावधान प्रयोग गरेर संसद भंग गरिएको भन्दै उनले अदालतले त्यसलाई अनुमोदन गर्‍यो भने त्यो संविधान संशोधन सरह हुने बताए । श्रेष्ठले अघि भने, ‘सर्वोच्च अदालतले संविधान संशोधन गर्‍यो भने यो कागजको खोस्टामा परिणत हुन्छ । संविधान च्यातिएको अवस्था हुन्छ, समग्र व्यवस्थामाथि प्रहार हुन्छ र प्रतिगमनतिर जाने खतरा हुन्छ ।’ उनले भने ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board