पार्टीको आधिकारिकता हामीसँग छ : माधवकुमार नेपाल

काठमाडौं, १३ माघ । नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले आधिकारिक नेकपा आफूहरु रहेको बताए । नेकपा पाँचथर जिल्ला कमिटीले आज फिदिममा आयोजना गरेको कार्यकर्ता भेला तथा प्रशिक्षणमा नेपालले निर्वाचन आयोगको निर्णयसँगै नेकपाको आधिकारिकताको प्रश्न टुङ्गिएको बताउँदै भने, “निर्वाचन आयोगले ४११ केन्द्रीय सदस्यलाई मान्यता दिएपछि त्यसको बहुमतका आधारमा हामी आधिकारिक नेकपा हौँ ।” चार सय ४१ को केन्द्रीय कमिटी र ४५ का स्थायी समिति आधिकारिक भएको र त्यसमा आफूहरुसँग बहुमत रहेको नेता नेपालको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री नेपालले संविधानको कुनै धारामा नटेकी प्रतिनिधिसभा विघटन गर्ने मन्त्रिपरिषद्को निर्णय भएको जिकिर गर्दै यसबाट उक्त निर्णय अवैधानिक भएको र राजपत्रमा विधि सम्मतरुपमा प्रकाशन नभएको आरोप लगाए । सबैको असन्तुष्टि भएपछि प्रधानमन्त्रीलाई त्यसको कारण खोज्न सुझाव दिए ।

प्रधानमन्त्रीले गल्ती स्वीकार गरे पार्टी एकता र सहकार्य जारी हुन सक्ने बताउँदै नेता नेपालले आफू कुनै पदको लोभ नगर्ने र समस्या नबन्ने बताए । कार्यक्रममा नेकपा स्थायी कमिटी सदस्य जनार्दन शर्माले प्रधानमन्त्री ओलीका कारण देशको अग्रगमन र समृद्धिमा बाधा परेको आरोप लगाए । पूर्वमन्त्री शर्माले विगतदेखि नै एमाले र माओवादीबीच भएका सहमति र सहकार्यका आधारमा पार्टी एकता भएको बताउँदै नयाँ ढङ्गले पार्टी सङ्गठन निर्माण गरिने जानकारी दिए । फुङलिङ– नेता नेपालले पूर्वनेकपा एमालेलाई १५ वर्ष आफूले नेतृत्व गरेको बताउँदै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रचण्डको मामूली कार्यकर्ताको सङ्ज्ञा दिएर नजिस्काउन आग्रह गरे ।

आज ताप्लेजुङको सदरमुकाम फुङ्लिङमा नेकपा दाहाल–नेपाल समूहले आयोजना गरेको विरोधसभामा पूर्वप्रधानमन्त्री नेपालले निर्वाचन आयोगको निर्णयपछि ओलीले अझै अध्यक्ष छु भने पनि पार्टीले हटाइसकेको बताए ।आयोगले ४४१ सदस्यीय कमिटीलाई मान्यता दिएको र ७० प्रतिशतले ओलीलाई हटाइसकेको जनाउँदै उनी अध्यक्ष नरहेको नेपालले जिकिर गरे । जबज भनेको पार्टीको लोकतान्त्रीकरण, सामाजिक न्याय र प्रशासनको लोकतान्त्रिक भएको तर ओलीसँग त्यो सिद्धान्त नभएको नेपालले आरोप लगाए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board