प्रचण्ड-माधव समूहको हड्ताल : ट्याक्सीमा आगजनी, बन्द गर्ने ५६ जना प्रहरी नियन्त्रणमा

काठमाडौं, २२ माघ । आज नेपाल कम्युनिष्ट पार्ट (नेकपा) को प्रचण्ड माधव समूहले आम हड्ताल गरेको छ ।

काठमाडौंको गोंगबुमा अज्ञात समूहले ट्याक्सीमा आगजनी गरेका छन्। बिहीबार बिहान प्रदेश ३(०१ ००२ ज ५८८१ नम्बरको ट्याक्सीमा आगजनी गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए । सो ट्याक्सी धादिङका खुम्ब नारायण श्रेष्ठको रहेको प्रहरीले जनाएको छ । प्रहरीले ट्याक्सीमा लागेको आगो नियन्त्रणमा लिइसकेको छ। सो ट्याक्सीमा पूर्ण रूपमा क्षति पुगेको छ।

बिहीबार बिहानैदेखि चोकचोकमा बाक्लो मात्रामा सुरक्षाकर्मीहरु खटिएका छन्। अहिलेसम्म प्रहरीले हड्ताल गर्दै हिड्ने ५६ जनालाई नियन्त्रणमा लिइसकेको एसएसपी सिंहले जानकारी दिए। गृहमन्त्रालयले हड्तालमा पनि सवारी साधन सञ्चालन गर्न यातायात व्यवसायीलाई निर्देशन दिए पनि सडकमा यातायातका साधनहरु कमै मात्रामा सञ्चालनमा आएका छन् । यता बिहानै केही स्थानमा आन्दोलनकारीमाथि सुरक्षाकर्मीले धरपकड गरेको नेकपा प्रचण्ड माधव समूहले जनाएको छ । पार्टी केन्द्रीय सदस्य तथा युवा संगठनका संयोजक रामप्रसाद सापकोट दीपशिखाले सामाखुसीबाट बिहान ६ बजे अगावै युवा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको बताए । बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय सुनुवाईविनै संवैधानिक परिषद्ले सिफारिस गरेका संवैधानिक आयोगका पदाधिकारी तथा सदस्यहरु नियुक्त गरेपछि प्रचण्ड -माधव समूहले आकस्मिकरुपमा हड्ताल घोषणा गरेको थियो । यससँगै संसद विघटनविरुद्ध घोषणा गरेका तेस्रो चरणका आन्दोलनका कार्यक्रम भने केही परिवर्तन भएका छन् । शुक्रबार केपी ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । त्यसका लागि बाहिरी जिल्लाबाट आउने कार्यकर्ता रोक्नका लागिसमेत हड्ताल गरिएको अर्थ्याइएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board