पत्रकारिता क्षेत्रका समस्या समाधान गर्न सधैँ तयार छौँ : मन्त्री गुरुङ

काठमाडौं, २४ माघ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विगत र वर्तमान समयमा पत्रकारिता क्षेत्रमा जन्मिएका समस्याको समाधान गर्न सधैँ तयार रहेको बताए । नेपाल पत्रकार महासङ्घ काठमाडौँ जिल्ला शाखाको २२औँ साधारणसभा उद्घाटन समारोहमा उहाँले आफ्नै पालामा दीर्घकालिन रुपमा पत्रकारको समस्याको समाधान गर्ने बताए ।

पत्रकार समाज रुपान्तरणको मुख्य अङ्ग भएकाले रचनात्मक तरिकाबाट जिम्मेवारीपूर्वक काम गर्न आग्रह गर्दै उनले पत्रकारले समाजमा सही सूचना प्रवाह गर्नका लागि मात्र आफ्नो कलम अघि बढाउन सुझाव दिए । आगामी वर्षको नीति तथा कार्यक्रमका लागि प्रतिनिधिमूलक ढङ्गबाट पत्रकारलाई छलफलमा बोलाइ कार्यक्रम अघि बढाउने पनि उनले बताए ।

विगतका वर्षमा जस्तै आगामी दिनमा पत्रकारले आफ्नो हकअधिकार स्थापित गर्नका लागि आन्दोलन गर्नुपर्ने अवस्थाको कानूनीरुपमा नै अन्त्य गरिने उनको धारणा थियो । हाल रु पाँच करोड रहेको पत्रकार कल्याणकारी कोषका लागि रु पाँच करोड थपेर रु १० करोड बनाएर बहुवर्षीय कार्यक्रमका रुपमा अघि बढाउने पनि मन्त्री गुरुङले जानकारी गराए ।

कार्यक्रममा काठमाडौँ महानगरपालिकाले पत्रकार उपचार कोषका लागि सो शाखालाई रु १५ लाखको चेक हस्तान्तरण गरेको छ । नगर प्रमुख विद्यासुन्दर शाक्यले चेक हस्तान्तरण गर्दै समाज रुपान्तरण लागि मुख्य भूमिका निर्वाह गर्ने पत्रकारलाई सहयोग गर्न पाउँदा आफू खुशी रहेको बताए । कार्यक्रममा विभिन्न क्षेत्रमा कलम चलाएका अग्रज पत्रकारलाई पुरस्कार वितरण एवं सम्मान गरिएको छ । सम्मान पाउनेमा राजेन्द्र स्थापित, शम्भु श्रेष्ठ, बलराम थापा, निर्मला शर्मा, देवेन्द्र चुँडाल, विश्वराज किरात, इन्द्र रिजाल, निरोधराज पाण्डे, ज्ञान उदास, ईश्वरीप्रसाल वाग्ले, टिवी विरही, गोपाल बुढाथोकी, दामोदरप्रसाद दवाडी र मानध्वज लामा रहनुभएको छ । कार्यक्रममा पत्रकारिता नामक स्मारिकाको विमोचना गरिएको थियो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board