आज कांग्रेस पदाधिकारी बैठक , सत्ता समीकरणका विषयमा छलफल

काठमाडौं, १३ फागुन । नेपाली कांग्रेसको पदाधिकारी बैठक आज बस्दैछ ।

सभापति शेरबहादुर देउवाले अपराह्न तीन बजेका लागि बुढानिलकण्ठस्थित आफ्नै निवासमा पदाधिकारीलाई डाकेको उनको सचिवालयले जनाएको छ । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछिको परिस्थिति र नयाँ सरकार गठनको अवस्थामा कसलाई सघाउने वा नसघाउने भन्ने विषयमा देउवाले पदाधिकारीहरूसँग छलफल गर्न लागेका हुन् ।

नेकपाको प्रचण्ड-नेपाल समूहका दुई अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले बुधबार देउवालाई भेटेर सरकार सञ्चालनका लागि मिलेर जानुपर्ने प्रस्ताव गरेका थिए । तर, देउवाले आन्तरिक छलफलपछि आवश्यक निर्णय दिने बताएका थिए ।

बुधबार प्रचण्ड र नेपालसँगको भेट र सत्ता समीकरणको प्रस्तावलगत्तै देउवाले आज पदाधिकारी बैठक बोलाएका हुन् ।

देउवालाई नेकपाकै ओली समूहले पनि साझेदारीमा सरकार गठनको प्रस्ताव राख्दै आएको बताइन्छ । तर, नेकपा आधिकारिकरूपमा फुटिनसकेकाले देउवा पहिला नेकपा फुटको छिनोफानोपछि मात्रै आवश्यक निर्णय गर्ने मुडमा रहेको उनी निकट स्रोत बताउँछ ।

कांग्रेसकै कतिपय नेताहरू भने फेरि जनताबाट चुनिएर नआएसम्म सरकारमा नजाने बताउँदै आइरहेका छन् ।

प्रतिनिधिसभा पुनर्स्थापना र नेकपा विभाजनपछि सरकार गठनमा नेपाली कांग्रेस निर्णायक अवस्थामा पुगेको छ ।

पुस ५ मा भएको प्रतिनिधिसभा विघटनलाई सर्वोच्च अदालतले बदर गर्दै यही मंगलबार १३ दिनभित्रै संसद अधिवेशन आह्वान गर्ने आदेश दिएको छ ।

संसद अधिवेशन शुरू भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेकपाकै प्रचण्ड-नेपाल समूहले अविश्वासको प्रस्तावमार्फत हटाउने तयारी गरेको छ । त्यसलगत्तै नयाँ सरकार गठनको प्रकिया शुरू हुनेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board