‘प्रधानमन्त्रीले संसद्मा डटेर सामना गर्नुहुन्छ’ : उपप्रधानमन्त्री पोखरेल

काठमाडौं । उपप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी नेकपाका सचिवालय सदस्य ईश्वर पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा नदिइ संसद्मा डटेर सामना गर्ने बताए ।

पार्टीनिकट अनेरास्ववियुको बृहत् कार्यकर्ता भेलालाई आज सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा लोकतन्त्रमा विश्वास गर्ने भएकाले सर्वोच्च अदालतले गरेको निर्णयको सम्मान गर्ने बताए । उनले प्रधानमन्त्री ओलीले कसैले राजीनामा माग्दैमा नदिने र संसद्को सर्वोच्चतालाई मानेर संसद्मा नै सामना गर्ने बताए ।

उनले नेकपाको अर्को समूहलाई हिम्मत भए अविश्वासको प्रस्ताव ल्याउनेसमेत आग्रह गरे । “प्रधानमन्त्रीले अविश्वासको सामना गरे । कसको हिम्मत छ अविश्वास प्रस्ताव ल्याउन”, उनले भने, “नेकपाले लोकतान्त्रिक विधिबाट आउने सबैको सामना गर्छ ।” उनले प्रधानमन्त्री संसद्को सामना गरेर नेपाली जनताप्रति आफ्नो लोकतन्त्रको प्रतिबद्धतालाई प्रमाणित गर्ने बताए । उनले प्रधानमन्त्रीविरुद्ध सडकमा नारा लगाएको भरमा राजीनामा नगर्ने स्पष्ट पारे ।

उपप्रधानमन्त्री पोखरेले सरकार संसद् बोलाउने प्रक्रियामा अगाडि बढेको पनि जानकारी दिए ।
“अदालतको फैसलालाई मान्दामान्दै पनि सबभन्दा ठूलो फैसला दिने न्यायाधीश सर्वोच्च अदालतका न्यायाधीश होइनन् र हुन सक्दैनन्,” उनले भने, “अदालतभन्दा धेरै शक्तिशाली न्यायाधीश जनता हुन् । जनताले गर्ने फैसलाको प्रतीक्षामा हामीहरु छौँ ।” उनको भनाइ थियो ।

कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले ओली नेतृत्वको नेकपाले हरेक परिस्थितिको सामना गर्न तयार रहेको बताए । उनले आफ्नो पार्टी निर्वाचनमा जाने र संसद्को सामना गर्ने दुवै विकल्पमा सक्षम रहेको भनाइ राखे । नेकपाको स्थायी कमिटी सदस्य रायमाझीले प्रधानमन्त्रीले बाध्य भएर संसद् विघटन गरेको भन्दै पुर्नस्थापना गर्ने अदालतको फैसलालाई पार्टीले स्वीकार गरेको बताए । उनले अब संसद्मा कुनै पनि दलको बहुमत पुग्ने अवस्था नरहेमा पुनः संसद् विघटन गरेर निर्वाचनमा जानु पर्ने परिस्थिति सिर्जना हुने बताए । अनेरास्ववियुका संयोजक ऐन महरले सर्वोच्च अदालतको फैसलाले मुलकुलाई अस्थिरतातर्फ धकेल्नेलाई फाइदा पुगेको बताए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board