नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको छ : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपाल राजनीतिक हिसाबले द्वन्द्वमुक्त भएको बताए ।प्रतिनिधिसभाको आजको बैठकमा दलीयरुपमा भाग लिँदै मन्त्री ज्ञवालीले तराईमा चलेको पृथकतावादी र हिंसात्मक गतिविधि चलाउने समूह शान्तिपूर्ण राजनीतिको मूलधारमा आएसँगै नेपाल द्वन्द्वमुक्त भएको बताए । “यो महत्वपूर्ण उपलब्धि हो”, उनले भने । संसद्को प्रारम्भमै पेश हुनुपर्ने अध्यादेशका विषयमा सबै राजनीतिक दलबीच एकै मत र समान धारणा हुनुपर्ने उल्लेख गर्दै मन्त्री ज्ञवालीले निश्चित व्यक्ति प्रधानमन्त्री हुन पाए अग्रगमन नभए प्रतिगमन भन्ने बुझाइ अन्त्य हुनुपर्ने धारणा राखे ।

प्रतिनिधिसभा पुनःस्थापनापछि नयाँ ढङ्गले जान खोजे पनि अहिलेको वातावरणले अझै राम्रो सङ्केत नगरेको मन्त्री ज्ञवालीको भनाइ थियो । सर्वोच्च अदालतको फैसलापछि यही संसद्बाट नै राजनीतिक स्थायित्व खोज्ने बाध्यात्मक स्थिति आएको भन्दै उनले सरकारले अदालतलाई कुनै आक्षेप नलगाएको बताए । उनले विसं २०७२ मा संविधान जारी गरेर महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै अहिले संविधान सबैको सर्वस्वीकार्य दस्तावेज बनेको उल्लेख गरे ।

मन्त्री ज्ञवालीले सरकारले तीन वर्षमा महत्वपूर्ण काम गरेको स्पष्ट पार्दै नेपालको निधारमा लागेको अल्पविकसितको टीका निकट भविष्यमै हट्ने विश्वास व्यक्त गरे । उनले मेलम्ची खानेपानी योजना, सुनकोशी डाइभर्सन, नागढुङ्गा सुरुङमार्गलगायत महत्वपूर्ण काम गरेको स्पष्ट पारे । “मेलम्चीको पानी सुन्दरीजलमा पुगेको छ, अर्को हप्ता काठमाडौँवासीको धारामा पानी झर्छ”, उनले भने, “पाँच जिल्लाको विकास गर्ने सुनकोशी डाइभर्सनको शिलान्यास गरेका छौँ, घण्टौँ जाममा परेर बिरामीले एम्बुलेन्सभित्रै ज्यान गुमाउने अवस्थाको अन्त्य गर्न नागढुङ्गा सुरुङमार्गको काम तीव्र गतिमा भइरहेको छ ।” सगरमाथाको उचाइ नेपाल आफैंले मापन गरेको उहाँले उल्लेख गरे ।

मन्त्री ज्ञवालीले जनतालाई स्वास्थ्य सेवा सर्वसुलभ ढङ्गले उपलब्ध गराउने उद्देश्यका साथ सरकारले देशभर ३९६ अस्पतालको शिलान्यास गरेको उल्लेख गर्दै तामाकोशीको विद्युत् चाँडै बाल्न पाउने बताउनुभयो । देशले नयाँ उपलब्धि हासिल गरेर अघि बढेको उहाँले स्पष्ट पारे । सरकारले कोभिड–१९ नियन्त्रण र रोकथाममा महत्वपूर्ण उपलब्धि हासिल गरेको भन्दै मन्त्री ज्ञवालीले कोरोनाबाट निको हुनेको सङ्ख्या ९८ प्रतिशत रहेको बताए ।

विश्वका ६० मुलुकले शुरुआतमै आफ्ना नागरिकलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराएको प्रसङ्ग उल्लेख गर्दै उनले नेपालले पनि प्रारम्भमै नागरिकलाई खोप उपलब्ध गराएको बताए । “हामीले १७ लाख व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइसकेका छौँ”, उनले भने । कोरोनाविरुद्धको खोप उपलब्ध गराएकामा मन्त्री ज्ञवालीले भारत, चीन र संयुक्त राष्ट्रसङ्घप्रति आभार प्रकट गरे ।

मन्त्री ज्ञवालीले नेपालले बाह्य मुलुकसितको सम्बन्धमा उल्लेख्य उपलब्धि हासिल गरेको बताए । नेपालले कालापानी, लिपुलेक र लिम्पियाधुराको मुद्दा प्रखररुपमा उठाएको उल्लेख गरे । सो अवसरमा मन्त्री ज्ञवालीले राष्ट्रपति विद्यादेवी भण्डारीको आशन्न बङ्गलादेशको मैत्रीपूर्ण औपचारिक भ्रमणबारे सदनलाई जानकारी गराए । राष्ट्रपति भण्डारीले यही चैत ९ देखि १० गतेसम्म गर्ने बङ्गलादेशको भ्रमणबाट दुई देशको सम्बन्ध थप सुमधुर हुने उनले स्पष्ट पारे ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board