ओलीले मान्लान् त माधवका यी आठ सूत्र ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले एमाले एकताका लागि आठ वटा सूत्र अघि सारेको छ । तर ती कुनै पनि सूत्र सुन्ने पक्षमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली भने देखिंदैनन् ।

चैत पहिलो साता काठमाडौंमा भएको राष्ट्रिय कार्यकर्ता भेलामा प्रस्तुत राजनीतिक प्रस्तावलाई अन्तिम रूप दिँदै नेपाल खनाल समूहले एकताको लागि भन्दै आठ बुंदा सूत्रका रुपमा अघि सारेको छ ।

– ‘१. नेकपा (एमाले)को एकतालाई बचाऔं, कम्युनिष्ट आन्दोलनको रक्षा गरौं’ को मर्म अत्यन्तै सही छ। त्यसको पूर्वशर्त २ जेठ २०७५ लाई प्रस्थानबिन्दु बनाएर पार्टी जीवनलाई सुचारू बनाउनुपर्छ भन्ने हो। २८ फागुन र तत्पश्चात् भएका कथित बैठक र तिनका अवैध निर्णय सबै रद्द गरिनुपर्छ।

२ – २ जेठ २०७५ मा जुन केन्द्रीय कमिटी थियो, त्यसको पूर्ण बैठक बसेर अब कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा निर्णय गर्नुपर्छ । प्रदेश, जिल्ला र स्थानीय तहसम्म पार्टी र जनसंगठनका कमिटीहरू पुनर्जीवित गर्नुपर्छ।

३ – पार्टीलाई नवौं महाधिवेशनको कार्यदिशा र विधानका आधारमा सञ्चालन गर्नुपर्छ। नवौं महाधिवेशनपछि उत्पन्न सबै विवादहरूको विधिसम्मत समाधान खोजिनुपर्छ।

४ – वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे लगायत विभिन्न जिल्ला कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई अवैधानिक रूपले कारबाही गरिएको छ। पार्टीका नेताहरूलाई एकपछि अर्को कारबाही गरिँदै छ। ती सबै प्रयासहरूलाई असफल पार्न उक्त गुटको जन्म र विकासका बारेमा सम्पूर्ण सत्य–तथ्य पार्टी पंक्तिलाई जानकारी गराउनुपर्छ।

५ – पार्टी आजको अवस्थामा आइपुग्नुको मुख्य कारण पार्टीलाई लेनिनवादी संगठनात्मक सिद्धान्त र पद्धति अनुरूप सञ्चालन नगर्नाले हो। आजको हाम्रो गन्तव्य वैज्ञानिक समाजवाद हो। त्यसका लागि पार्टीको नवौं महाधिवेशनले पारित गरेका सैद्धान्तिक, कार्यक्रमिक र सांगठनिक कार्यदिशामा आधारित भएर भेला, प्रशिक्षण, छलफल, गोष्ठी लगायतका प्रचारात्मक कार्यक्रमहरूको आयोजना गर्नुपर्छ।

६– नवौं महाधिवेशनले लिएको कार्यदिशा अनुसार नेपाली विशेषताको समाजवादको दिशामा अगाडि बढ्दै वाम एकताका आधारहरू तयार गर्नेतर्फ ध्यान दिनुपर्छ।

७ – सरकारले आफ्नो सत्ताका लागि राज्यका अन्य अंगलाई पनि दुरुपयोग गर्ने सम्भावना बढ्दै गएको हुँदा संविधान, लोकतन्त्र, राष्ट्रिय हित तथा जनअधिकारको रक्षाका लागि अन्य राजनीतिक तथा नागरिक संस्थाहरूसँगको सहकार्यलाई बढाउँदै लैजानुपर्छ।

८ – पार्टीको एकता नै खतरामा परेको अवस्थामा पार्टीलाई सुदृढ गर्दै त्यसको एकताको रक्षा गर्नु र त्यसमार्फत कम्युनिष्ट आन्दोलनको भविष्यको रक्षा गर्नु नै आजको तात्कालिक कार्यभार हुन गएको छ। हाम्रा अग्रजहरूले जसरी कठिन अवस्थाहरूमा क्रान्ति र पार्टीको रक्षा गरेका थिए, त्यही कार्यभार हाम्रो काँधमा आइपरेको छ। त्यो कार्यभार पूरा गर्ने संकल्प गरौं र सकेसम्म छिटो पार्टी जीवनलाई पूर्ववत् पुनस्स्थापित गरौं।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board