मुख्य शहरका विद्यालय एक महिना बन्द गर्न सिफारिश

काठमाडौं ४ बैशाख । शहरी क्षेत्रका विद्यालय एक महिना बन्द गर्न कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले मन्त्रिपरिषद्लाई सिफारिश गरेको छ। जसमा देशभरका १५ शहर रहेका छन्।

शनिबार सिंहदरबारमा बसेको सीसीएमसीको बैठकले कोरोनाभाइरसको जोखिम बढेको निष्कर्ष निकालेको छ। महामारीबाट जोगाउन वैशाख मसान्तसम्म शहरी क्षेत्रका विद्यालय बन्द गर्न सिफारिश गर्ने निर्णय गरेको कृषिमन्त्री पद्मा अर्यालले बताइन्।

सीसीएमसीले विद्यालय बन्द गर्नुपर्ने शहरहरूको विषयमा पनि छलफल गरेको छ। काठमाडौं उपत्यकासहित १५ शहरका विद्यालय बन्द गर्नुपर्ने निष्कर्ष निकालेको हो। गत वर्ष सबै क्षेत्रका विद्यालय बन्द गरिएको थियो। जसले कोरोनाको जोखिम नभएका क्षेत्रका विद्यार्थीको पनि पढाइ प्रभावित भएको थियो।

त्यसैले यस वर्ष अति जोखिम भएका क्षेत्रका विद्यालयमा मात्रै बन्द गर्न मन्त्रिपरिषद्लाई सिफारिश गरिएको सीसीएमसीले जनाएको छ। पहिलो चरणमा १५ शहरहरू सूचिकृत गरिएको छ।

यसअघि स्वास्थ्य मन्त्रालयले १४ जिल्लालाई अतिप्रभावितको सूचिमा राखेको थियो। जसमा काठमाडौं, ललितपुर, भक्तपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङ रहेका छन्।

शिक्षा मन्त्रालयले शुक्रबार नै अति प्रभावित सूचिमा रहेका १४ जिल्लामा बालबालिकालाई विद्यालय नपठाउन अनुरोध गरेको थियो। त्यस्तै, स्थानीय सरकारलाई जिल्ला विपद् व्यवथापन समितिको समन्वयमा मात्रै पठनपाठन गर्न अपिल गरेको थियो।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board