प्रचण्ड माडीमा, अयोध्यापुरीको प्रमाणिक अनुसन्धान गर्न माग

चितवन ५ बैशाख । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माडीको अयोध्यापुरी क्षेत्रमा अनुसन्धान गरी रामको जन्मभूमि भनेर प्रमाणित गर्नुपर्ने बताउनु भएको छ ।

मन्दिरलगायतका संरचना बन्दै गरेको ठाउँमा पुग्नुभएका प्रचण्डले आफ्नै निर्वाचन क्षेत्रमा अयोध्याधामको चर्चाले निकै खुशी भएको बताउंदै भन्नुभयो ‘यसलाई गम्भीर अनुसन्धान गर्नुपर्छ, प्रमाणित गरिनुपर्छ र आधिकारिकता दिनुपर्छ ।’

यस्ता विषय निकै संवेदनशील हुने भएकाले जनताको आस्था, भावना र संवेदनासँग सम्बन्धित ऐतिहासिक, पौराणिक र परम्परासँग जोडिएका विषयमा सस्तो लोकप्रियता प्राप्तिका लागि काम गर्न नहुने प्रचण्डले धारणा छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले रामको जन्म यहीँ भएकोले यसको प्रवर्द्धनमा जोड भन्दै रामनवमीका अवसरमा रामसीतामको मूर्ति प्रतिस्थापन गर्ने भन्दै बालुटारमा मूर्ति बनाउने काम लगाइरहेको प्रति प्रचण्डको असन्तुष्टि थियो ।

अयोध्यापुरीले धार्मिक प्रवर्द्धनमा मात्रै नभएर धार्मिक पर्यटन प्रवर्द्धनको साथै यहाँका जनताको आर्थिक जीवनस्तर उकास्न सहयोग पुग्ने प्रचण्डको भनाई थियो ।

अयोध्यापुरीमा रामको जन्मभूमि भएको प्रमाणिकता का लागि पुरातत्वविज्ञ ल्याएर अनुसन्धान गर्नुपर्नेमा प्रचण्डको सुझाव छ ।

कम्युनिष्टले जनताको धार्मिक आस्थाप्रति उच्च सम्मान गर्ने धारणा राख्दै प्रचण्डले भन्नुभयो ‘कम्युनिष्ट धर्म संस्कृति मान्दैनन् भन्छन्, बिल्कुल झुटो प्रचार हो, यो ६० वर्ष पुगेपछि मान्छे मार्छन् भने जस्तै हो ।’ जनताको धार्मिक आस्था, धार्मिक पर्यटन प्रवर्द्धन त्यसमार्फत जनताको जीवनस्तरलाई समृद्ध बनाउने कुरामा कम्युनिष्ट झनै बढी जिम्मेवार र त्यसप्रति संवेदनशील हुने प्रचण्डको स्पष्ट गर्नुभयो ।

यसैबीच प्रचण्डले शिक्षा नै विकासको प्रमुख आधारशीला भएको बताउनु भएको छ ।
अध्यक्ष प्रचण्डले माडीको दिवाकर स्मृति बहुप्राविधिक शिक्षालयको उद्घाटन कार्यक्रममा समग्र माडीको शिक्षा, स्वास्थ्य र रोजगारीको विकासमा आफू निरन्तर लागिरहेको बताउँदै शिक्षाको विकास अझ बढी ध्यान दिने बताउनुभयो ।‘नेपालमा प्राविधिक शिक्षाको विकास गरेर दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्य हामीले राखेका छौँ, त्यही रुपमा यस प्राविधिक शिक्षालयले उत्पादन गरेको जनशक्ति उदाहरणीय बनोस् भन्ने म चाहन्छु ।

अध्यक्ष प्रचण्डले दिवाकर स्मृति प्राविधिक शिक्षालय निर्माणमा हिजो आफ्नो महत्वपूर्ण भूमिका रहेको स्मरण गर्दै भन्नुभयो ‘आगामी दिनमा पनि यसको विकासमा मैले प्रभावकारी भूमिका निभाउनेछु ।’
‘यहाँ नयाँ सडक बनिरहेका छन्, पुलहरु बन्नेक्रममा छन् । रिउको तटबन्धको कार्य पनि अगाडि बढेको छ । यस क्षेत्रको विकासमा मैले महत्वपूर्ण जिम्मेवारी निभाउने नै छु ।’


सोही क्षेत्रबाट निर्वाचित प्रचण्ड आज चितवनका विभिन्न कार्यक्रममा सहभागी हुने व्यस्त कार्यतालिका रहेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board