काठमाडौँ ९ वैशाख — आफूहरुमाथि पार्टी अध्यक्ष केपी शर्मा ओलीले कारबाही गर्न लागेको भन्दै एमालेको झलनाथ खनाल–माधवकुमार नेपाल समूहले सर्वोच्च अदालतमा बुझाएको रिट दर्ता गरेको छ ।
माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल र सुरेन्द्र पाण्डेले सांसदमाथि कारबाही गर्न लागिएको भन्दै सर्वोच्चलाई प्रतिषेधको आदेश जारी गरीपाऊँ भन्दै बुधबार दिएको निवेदन बिहीबार दर्ता भएको हो । आइतबारका लागि पेशी तोकिएको छ ।
त्यस्तै, २०७५ जेठ २ गतेअघिकै नेकपा (एमाले) ब्युँताउने सर्वोच्चको २०७७ फागुन २३ गतेको आदेश कार्यान्वयन गरिपाऊँ भन्ने पनि निवदेनमा माग गरिएको छ । २७ जना सांसदका हकमा त्यस्तो आदेश माग गरिएको हो । निवेदनमा नेकपा एमालेका अध्यक्ष तथा संसदीय दलका नेता केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल, निर्वाचन आयोग र सभामुख अग्निप्रसाद सापकोटालाई विपक्षी बनाइएको छ ।
एमाले अध्यक्ष ओलीले बिनाकारण स्पष्टिकरण सोधेको र बाँकी कारबाही रोक्न भन्दै नेपालपक्ष अदालत गएको हो ।
COMMENTS