नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च : पछिल्लो २४ घण्टामा थप २८ जनाको मृत्यु,

काठमाडौं, १२ बैशाख ।  पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट २८ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या तीन हजार एक सय ६४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । यस्तै पछिल्लो २४ घण्टामा नौ हजार दुई सय ९२ जनाको पीसीआर परीक्षण गर्दा तीन हजार ३२ जना र सात सय ८६ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जना गरी तीन हजार एक सय २२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

आज थपिएकासहित नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या तीन लाख एक सय १९ पुगेको छ । आज पुष्टि भएका सङ्क्रमितमध्ये एक हजार ९८ जना काठमाण्डौ उपत्यकाका रहेका छन् । अहिले नेपालमा १९ हजार तीन सय ८२ जना सक्रिय सङ्क्रमित छन् । यस्तै थप चार सय ५० जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७७ हजार पाँच सय ७३ पुगेको छ । यता स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरस सङ्क्रमणको वृद्धिदर विश्वमै उच्च तहमा पुगेको बताएको छ ।

पछिल्लो एक हप्तामा नेपालमा कोरोना सङ्क्रमण दर दुई सय ४१ प्रतिशत अर्थात् झण्डै दुई दशमलव पाँच गुणाले बढेको भन्दै मन्त्रालयले यो दर विश्वमै उच्च रहेको बताएको हो । अहिले विश्वमा कोरोना सङ्क्रमण वृद्धिदर १० प्रतिशतमात्रै रहेको छ । नेपालको छिमेकी देश भारतमा सङ्क्रमण वृद्धिदर ६० प्रतिशत, पाकिस्तानमा १३ प्रतिशत र माल्दिभ्समा ८० प्रतिशत रहेको छ । यस्तै नेपालमा परीक्षण गरिएका नमुनामध्ये ३० प्रतिशतमा कोरोना सङ्क्रमण पुष्टि भइरहेको र यसको अर्थ हाम्रो समुदायमा सङ्क्रमण व्यापक भइसकेको बुझ्न सकिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा धुलिखेल अस्पतालका स्वास्थ्य तथा सामुदायिक विकास कार्यक्रम निर्देशक डाक्टर विराजमान कर्माचार्यले जानकारी दिनुभयो । नेपालमा अहिले देखिएको अवस्था भयावहका रूपमा नजिक रहेको सङ्केतका रूपमा बुझ्नुपर्ने भन्दै डा. कर्माचार्यले तत्काल थप सावधानी नअपनाइए अवस्था खराब हुने बताउनुभयो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board