उपेन्द्र यादव र राजेन्द्र महतोबीच भेटवार्ता, ओलीलाई विश्वासको मत नदिने

काठमाडौं । फुटको डिलमा पुगेको जनता समाजवादी पार्टी, नेपाल अन्ततः फुटबाट जोगिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने वा नदिने भन्नेमा दुई धारमा देखिएको जसपा अब एक भएर अघि बढ्ने भएको छ । प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिनुपर्ने पक्षमा पुगेका अध्यक्ष महन्थ ठाकुर राजेन्द्र महतोलगायतका प्रभावशाली नेताहरुले साथ छोडेपछि पार्टीभित्र एक्लिए । २२ जनाभन्दा बढि सांसद अर्का अध्यक्ष उपेन्द्र यादवको पक्षमा उभिएपछि ठाकुर संकटमा परेका छन् ।

पछिल्लो समय ठाकुरलाई राजेन्द्र महतोले साथ दिँदै आएका थिए । तर, पहिलेको सहमतिअनुसार महतोले संसदीय दलको नेतामा दाबी गरेको तर ठाकुरले दिन नमानेपछि यी दुई नेताबीच विवाद चर्किएको हो । महतोकै कारण ठाकुर पक्षले प्रधानमन्त्री ओलीलाई सघाउनेगरि थालेको सांसदहरुको हस्ताक्षर अभियानसमेत प्रभावित बनेको छ । उता, प्रधानमन्त्री ओलीलाई कुनैपनि हालतमा विश्वासको मत दिन नहुने पक्षको नेतृत्व गरेका अर्का अध्यक्ष उपेन्द्र यादव भने अब पार्टीको बैठक राखेर एउटा निर्णयमा पुग्ने तयारी गरेका छन् ।

यसको लागि उनले नेता महतोसँग पछिल्लो समय लगातार छलफल गरेका छन् । पार्टीले अब विश्वासको मत दिने वा नदिनेबारे एकमतले निर्णय गर्ने दोस्रो तहका नेताहरुको दाबी छ । अब छिट्टै पार्टी संसदीय दल र कार्यकारिणी समितिको बैठक बस्छ । अनि एउटा निर्णय गर्छ ।’जसपानिकट उच्च स्रोतका अनुसार यादव र महतोबीचको पछिल्लो भेटवार्तामा प्रधानमन्त्री ओलीलाई विश्वासको मत नदिने सहमति भएको छ । बरु, यसको लागि महतोलाई दलको नेता बनाउन यादवले सघाउने पनि वचन दिएको स्रोतले बताएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board