प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिने ( यस्तो छ संसदीय अंक गणित)

काठमाडौं, २७ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि आह्वान गरिएको संसदको विशेष अधिवेशनको बैठक आज बस्दै छ ।

बैठक दिउँसो १ बजे बस्ने छ । सुरुमा शीर्ष नेताहरुले मात्र सम्बोधन गरेर विश्वासको मतमा आजै मतदान गर्ने तयारी छ । कोरोनाबाट संक्रमित सदस्यहरुले पनि मतदान गर्न पाउने गरी विशेष व्यवस्था गरिएको संसद सचिवालयले जनाएको छ ।

अहिलेको दलहरुको गठबन्धन हेर्दा प्रधानमन्त्री ओलीले विश्वासको मत प्राप्त गर्न सक्दैनन् । प्रधानमन्त्री ओलीको दल नेकपा एमालेका १२१ सांसद छन् । विश्वासको मत पाउन १३६ मत चाहिन्छ ।

६१ सांसद भएको प्रमुख विपक्षी नेपाली कांग्रेसले विपक्षमा मत दिने निर्णय गरेको छ । ४९ सांसद भएको माओवादी केन्द्रले पनि हालै मात्र समर्थन फिर्ता लिएकाले प्रधानमन्त्रीलाई मत दिने छैन ।

संसदको अंकगणितमा निर्णायक ३२ सांसद भएको जसपा थियो । जसपाको बाबुराम भट्टराई–उपेन्द्र यादव पक्षले यसअघि नै ओलीको विपक्षमा उभिने बताएको छ । महन्थ ठाकुर–राजेन्द्र महतो पक्ष ओलीप्रति लचक भए पनि जसपाले ह्वीप जारी नगरेर आफ्ना सांसदहरुलाई स्वतन्त्र छाडिदिएको छ ।

एमालेले ह्वीप जारी गर्दै आफ्ना सबै सांसदलाई विश्वासको मतको पक्षमा मतदान गर्न भनेको छ । यद्यपि एमालेकै माधव नेपाल–झलनाथ खनाल पक्षसमेत ओलीको विपक्षमा छ । माधव–झलनाथ पक्षका समेत एमालेका सबैले ओलीलाई मत दिए पनि सरकार टिकाउन थप १५ मत अपुग हुने आंकलन गरिएको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board