भारतमा कोरोनाबाट दैनिक ३५ सय भन्दा बढीको मृत्यु : मृतकको संख्या तीन लाख नजिक

काठमाडौं, ९ जेठ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा मृत्यु हुनेको संख्या तीन लाख नजीक पुगेको छ । भारतमा दैनिक थपिने नयाँ बिरामी र मृत्यु हुने सङ्क्रमितको सङ्ख्या विश्वका अन्य मुलुकमा भन्दा अत्याधिक धेरै छ ।

पछिल्लो समय कोरोनाको कठिन परिस्थितिसँग जुधिरहेको भारतमा नयाँ थपिने बिरामी धेरै हुँदा उपचार गराउने स्थानको अभाव भइरहेको छ । अस्पतालहरुमा सङ्क्रमितलाई बेड अभाव भएर समस्या हुन थालेको छ । मृत्यु हुनेको सङ्ख्या अत्याधिक धेरै हुँदा दाहसंस्कार गर्ने स्थलको पनि अभाव भइरहेको छ । सङ्क्रमितको उपचारका लागि अक्सिजनको अभाव छ ।एकै दिन भारतमा तीन हजार सात सय ८८ जनाको मृत्यु कोरोनाका कारण भयो । हालसम्म मृत्यु सङ्क्रमितको सङ्ख्या दुई लाख ९९ हजार दुई सय ९६ पुगेको छ ।

२४ घण्टाभित्र भारतमा दुई लाख ४३ हजार सात सय ७७ जना नयाँ बिरामी थपिए । सङ्क्रमित सङ्ख्या दुई करोड ६५ लाख २८ हजार आठ सय ४६ पुगेको छ ।सङ्क्रमितमध्ये दुई करोड ३४ लाख १८ हजार पाँच सय २३ जना उपचारपछि निको भएका छन् । उपचाररत सङ्क्रमितको सङ्ख्या २८ लाख ११ हजार २७ रहेको छ । तीमध्ये आठ हजार नौ सय ४४ जनाको अवस्था चिन्ताजनक छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board