ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री – पूर्व सभामुखहरु

काठमाडौं, ११ जेठ । पूर्व सभामुखहरुले प्रधानमन्त्री केपी शर्मा ओली संसदप्रति इतिहासमै सबैभन्दा अनुदार प्रधानमन्त्री रहेको टिप्पणी गरेका छन् । मंगलबार सभामुख अग्निप्रसाद सापकोटाले नयाँ बानेश्वरमा पूर्व सभामुखसँगको अन्तरक्रियामा उनीहरुले यो कुरा बताएका हुन् ।

सरकारले दोश्रो पटक प्रतिनिधिसभा भंग गरेर मध्यावधि निर्वाचन घोषणा गरेपछि सभामुख सापकोटाले पूर्व सभामुखहरूसँग परामर्श लिइरहेका छन् । छलफलका क्रममा उनीहरुले सर्वोच्च अदालतको आदेशको अवमूल्यन गर्दै दोश्रो पटक प्रतिनिधिसभा विघटन गर्नु अलोकतान्त्रिक कदम भएको बताएका छन् । कोरोना महामारी रोक्न सरकारले अन्य दलहरूसँग समन्वय गर्नुपर्ने बेलामा चुनाव घोषणा गरेर पौंठेजोरी खोज्नु अलोकतान्त्रिक भएको टिप्पणी उनीहरुले गरेका छन् ।

जुन संसदमा प्रधानमन्त्रीमा नियुक्त भए त्यही संसदलाई देखिनसक्ने प्रधानमन्त्री ओलीले दुई दुई पटक संसद भंग गरेर इतिहासमै सबैभन्दा ठ्रलो अपराधपूर्ण काम गरेको उनीहरुले बताएका छन् । आन्दोलन र संघर्षबाट प्राप्त व्यवस्था तहसनहस पार्न लागेकोले त्यसलाई जोगाउनु अहिलेको मुख्य कार्यभार रहेकोमा उनीहरुको जोड छ । बैठकमा सभामुख अग्निप्रसाद सापकोटा, पूर्व सभामुखहरू रामचन्द्र पौडेल, तारानाथ रानाभाट, ओनसरी घर्ती, कृष्णबहादुर महरा सहभागी रहेका छन् भने सुवास नेम्वाङ भने सहभागी छैनन् ।

पूर्व सभामुख रानाभाट जुमबाट बैठकमा सहभागी छन् भने दमननाथ ढुङ्गाना पनि जुम प्रविधिबाट बैठकमा सहभागी हुने प्रयासमा रहेको सभामुख सापकोटाको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीले असंवैधानिक रुपमा संसद विघटन गरेर चुनाव घोषणा गरेपछि आगामी दिनमा कसरी अगाडि बढ्न सकिन्छ भन्नेबारेमा सभामुख सापकोटाले परामर्श गरिरहेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board