२५ सय ६५औँ बुद्ध जयन्ती मनाइँदै

काठमाडौं, १२ जेठ । भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरुप आज २५६५औँ बुद्ध जयन्ती देशभर मनाइँदैछ ।

प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्धजयन्ती पर्व मनाइन्छ । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्धजयन्ती मनाउने गर्दछन् ।

“अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो” यस्ता अनेकौँ कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६५औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहार लगायत स्थलमा सीमित बौद्ध धर्मगुरु मात्र बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि मात्र पूरा गरिने जनाइएको छ ।

गत वर्ष पनि कोरोनाबाट बच्न बन्दाबन्दी जारी गरिएकाले बुद्ध जयन्ती घर घर एवं चैत्य, गुम्बा, बिहारलगायत स्थलमा निश्चित धर्मगुरुमात्र जम्मा भएर पूजा आराधना गरिएको थियो ।

लुम्बिनी, स्वयम्भू, बौद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाउने परम्परा थियो । यी स्थलमा सीमित धर्मगुरु बसेर पूजा पाठ गरी पर्व मनाउने निर्णय भएको छ ।

बौद्ध क्षेत्रका सङ्घ संस्थाको बैठकले बौद्ध चैत्यमा पूजापाठमात्र गर्ने निर्णय गरेको काठमाडौँ महानगरपालिका वडा नं। –६ का अध्यक्ष दीपेन्द्रकुमार लामाले जानकारी दिए ।

बौद्धनाथ क्षेत्र विकास समिति, बौद्ध घ्याङ गुठीलगायत संस्थाले सीमित व्यक्तिकाबीच पूजा आराधना गर्ने कार्यक्रम तय भएको छ ।

समितिका कार्यकारी निर्देशक वसन्तकुमार लामा भक्तजनलाई घरमै बसेर बुद्ध जयन्तीको पूजा, पाठ, ध्यान, दीपावली गर्न आह्वान गरिएको बताउँछन् । सामान्य अवस्थामा हजारौँको मानिसको सहभागितमा शोभायात्रासहित बुद्ध जयन्ती पर्व मनाइन्थ्यो ।

इसापूर्व ५६३ अर्थात् आजभन्दा २५ सय ६५ वर्षअघि लुम्बिनी उद्यानमा पिता राजा शुद्धोधन र माता मायादेवीको गर्भबाट वैशाख शुक्ल पूर्णिमाका दिन सिद्धार्थ गौतमको जन्म भएको थियो ।

राजकुमारका रुपमा जन्म लिएका सिद्धार्थ गौतम मानिसले पाएका दुःख देखेर चिन्तित बने । २९ वर्षको उमेरमा दरबार छोडी उनी तपस्याका लागि निस्किएका थिए ।

इसापूर्व ५२८ को वैशाख शुक्ल पूर्णिमाका दिन उनले बुद्धगयास्थित पीपलको रुख ९बोधिवृक्ष० मुनि बुद्धत्व प्राप्त गरेका थिए । बुद्धत्व प्राप्त गरेपछि नै उनलाई गौतम बुद्ध, बुद्ध भगवान् आदि नामले पुकारिएको हो ।

दुःखलाई नाश गर्न तृष्णा क्षय गर्ने आठ मार्ग नै बुद्धले पाएको ज्ञान हो । सम्यक् सङ्कल्प, सम्यक् दृष्टि, सम्यक् वचन, सम्यक् कर्म, सम्यक् आजीविका, सम्यक् व्यायाम, सम्यक् स्मृति र सम्यक् समाधि हुन् यी आठ मार्ग हुन् भनी उनले ज्ञान बाँडेका थिए ।

यी ज्ञान पहिलोपटक सारनाथस्थित मृगदावनमा पञ्चवर्गीय भिक्षुहरुलाई प्रवचन ९धर्मदेशना० का माध्यमबाट बाँडेका थिए । ४५ वर्षसम्म यस्तो ज्ञान बाँडेपछि ८० वर्षको उमेरमा इसा पूर्व ४८३ मा वैशाख शुक्ल पूर्णिमाकै दिन कुशीनगरमा उनले महापरिनिर्वाण (मृत्यु) प्राप्त गरे ।

विश्व जगत्मा शान्तिका अग्रदूत र एसियाका ताराका रुपमा भगवान् गौतम बुद्धलाई चिनिन्छ । बुद्धले आठ मार्गका माध्यमबाट शान्ति, अहिंसा, मैत्री र करुणाको शिक्षा आम मानिसलाई दिए । यसैकारण विश्वमा बुद्ध दर्शनले सम्प्रदाय वा पथको रुप धारण गरेको छ ।

वि।सं। २००८ जेठ ८ गते बुद्धजयन्तीका दिनदेखि यस पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिन थालिएको हो । वि।सं। २०१२ फागुन ७ गते लुम्बिनीमा बुद्धजयन्तीका दिन हत्या, हिंसामाथि प्रतिबन्धको घोषणा गरिएको थियो ।

विश्वशान्तिका अग्रदूत भगवान् गौतमबुद्धको जन्मजयन्तीका दिन संयुक्त राष्ट्रसङ्घीय प्रणालीमा पनि सन् २००२ देखि सार्वजनिक बिदा दिइँदै आएको छ । हालसम्म विश्वका प्रकाशनमध्ये बुद्धसम्बन्धी सबैभन्दा बढी पुस्तक प्रकाशित भएको बताइन्छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board