भारतमा १६ लाख ४२ हजार सक्रिय सङ्क्रमित : ८ हजार ९४४ जनाको अवस्था गम्भिर

काठमाडौं, २१ जेठ । छिमेकी मुलुक भारतमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या १६ लाख ४२ हजारभन्दा बढी रहेको छ ।

शुक्रबार बिहानसम्ममा सक्रिय सङ्क्रमितको सङ्ख्या १६ लाख ४२ हजार आठ सय ३२ रहेको हो । उपचाररत सक्रिय सङ्क्रमितमध्ये आठ हजार नौ सय ४४ जनाको स्वास्थ्य अवस्था अत्यन्तै नाजुक छ ।

भारतमा केही समयअघिसम्म ५० हजारभन्दा बढी सक्रिय सङ्क्रमित थिए । कोरोनाका कारण नराम्ररी प्रभावित बनेको भारतमा एकै दिन चार लाखभन्दा बढी नयाँ बिरामी थपिँदा सक्रिय सङ्क्रमित पनि धेरै थिए ।

दैनिक ठूलो सङ्ख्यामा सङ्क्रमित थपिँदा उपचार गराउने ठाउँको पनि अभाव भएको थियो । अक्सिजन नपाएर धेरैको मृत्यु भयो । तर भारतमा पछिल्लो समय सङ्क्रमण र मृत्यु दर कम हुँदै गइरहेको छ ।

सङ्क्रमण पुष्टि भएकाहरु धमाधाम निको हुँदै घर फर्किएपछि सक्रिय सङ्क्रमितको सङ्ख्या घटेको हो । कतिपयको मृत्यु पनि भयो । केही अघिसम्म दैनिक चार हजारभन्दा बढीको मृत्यु कोरोनाका कारण भारतमा हुने गरेको थियो ।

छिमेकी मुलुक भारतमा पछिल्लो २४ घण्टाभित्र एक लाख ३१ हजार तीन सय ७१ जना नयाँ सङ्क्रमित थपिएका छन् । हालसम्म कोरोनाबाट बिरामी हुनेको सङ्ख्या दुई करोड ८५ लाख ७२ हजार तीन सय ५९ पुगेको छ ।

सङ्क्रमितमध्ये दुई करोड ६५ लाख ८८ हजार आठ सय आठ जना उपचारपछि कोरोनामुक्त हुँदै सामान्य जीवनमा फर्किएका छन् । धेरै सङ्क्रमित उपचार सफल भएपछि कोरोनामुक्त बनेका हुन् ।

भारतमा एकै दिन दुई हजार सात सय छ जना सङ्क्रमितको मृत्यु भयो । कोरोनाका कारण मृत्यु हुने भारतीय नागरिकको सङ्ख्या तीन लाख ४० हजार सात सय १९ पुगेको छ । भारत कोरोनाका कारण प्रभावित हुनेमध्ये विश्वकै दोस्रो नम्बरमा रहेको मुलुक हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board