निर्वाचन नै लोकतन्त्रको प्राण : उपप्रधानमन्त्री पौडेल

काठमाडौं । उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले निर्वाचन नै लोकतन्त्रको प्राण भएको बताए । उनले संविधानको कार्यान्वयनका लागि पनि अब निर्वाचनको विकल्प नभएको बताए । उनले आज बुटवलमा कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कार्यालयको उद्घाटनका क्रममा केही दलहरु निर्वाचनसँग डराएका बताए । उनले निर्वाचन बाध्यकारी रुपमा आएकाले सबैलाई निर्वाचनका लागि तयार रहन आग्रहसमेत गरेका छन् ।

उनले सरकारले पूर्वाधार निर्माणका क्षेत्रमा, मानवीय संसाधनको विकासका दृष्टिले, जनताको जीवनस्तरमा आएको विकास र प्रगतिका क्षेत्रमा हरेक दृष्टिकोणले नेपालले विकासका नयाँ नयाँ मानक प्रस्तुत गर्दै अघि बढिरहेको बताए । अर्थमन्त्रीसमेत रहेका उनले सरकारको विकास र समृद्धिको अभियानमा सम्पूर्ण राजनीतिक दल, आम जनताको समेत साथ र सहयोग हुनुपर्नेमा सत्तापक्षीय दलकै बीचमा पनि कतिपय समस्या देखिएकाले यो प्रतिनिधिसभाले राजनीतिक स्थायित्वलाई सुनिश्चितता दिने तथा विकासको अभियानलाई तीव्रता दिन नसक्ने अवस्थामा ताजा जनादेशमा जानुपर्ने परिस्थिति सिर्जना भएको उल्लेख गरे ।

उपप्रधानमन्त्री पौडेलले कालिगण्डकी तिनाउ डाइभर्सन बहुउद्देश्यीय आयोजनाका मुलुककै समृद्धिका लागि निकै महत्वपूर्ण राष्ट्रिय गौरवको आयोजना हुने बताए । उनले परियोजनाले रूपन्देही र कपिलवस्तुका जमीनमा सिँचाइ सुविधा पु¥याउने, विद्युत् उत्पादन गर्ने तथा पर्यटकीय पूर्वाधारको समेत विकास गरिने योजना रहेको जानकारी दिए । सो परियोजना सम्पन्न गर्न रु १३८ अर्ब लागत अनुमान गरिएको छ । यसअन्तर्गत विद्युत् उत्पादन करीब रु ६४ अर्ब र सिँचाइ संरचना तथा सिञ्चित क्षेत्र विकासका लागि करीब रु ७४ अर्ब अनुमान गरिएको छ । उक्त रकमको स्रोत सुनिश्चितताका लागि सरकार प्रतिबद्ध रहेको उपप्रधानमन्त्री पौडेलले जानकारी दिए ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board