मौसम : आज यी प्रदेशमा नदीहरूमा पानीको सतह बढ्ने भएकाले सतर्कता अपनाउन अनुरोध

काठमाडौं, २४ असार । मनसुनी वायु सक्रिय रहेका कारण आज देशका केही स्थानमा भिषणसहित अधिकांश स्थानमा वर्षा हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाले आज जारी गरेको बुलेटिन अनुसार आज बिहानैदेखि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ।

आज दिउँसो भने प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। प्रदेश १, २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । यस्तै राति पनि देशका धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।राति लुम्बिनी, सुदूरपश्चिम र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ। साथै सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना छ।यसैबीच लगातारको वर्षासँगै देशका विभिन्न नदी र खोलामा बाढी आएको छ । नारायणी, दुधकोशी र तमोर नदीमा पानीको सतह बढ्दै गएकाले सतर्क रहन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।चितवनको माडी क्षेत्रको छरछरे लगायत आसपासका क्षेत्रमा बिहानैदेखि ठूलो पानी परिरहेकाले खहरे खोलामा आकस्मिक बाढी आउनसक्ने अनुमान गरिएको छ ।

यस्तै, नवलपुरको अरुङ्ग र आसपासको क्षेत्रमा पनि बिहानैदेखि ठूलो पानी परिरहेको छ । ती क्षेत्रका स–साना नदीहरूमा आकस्मिक बहाव आउन सक्ने हुँदा तटीय क्षेत्र तथा पहिरोग्रस्त क्षेत्रमा हुनेहरूलाई सतर्क रहन महाशाखाले आग्रह गरेको छ । नारायणी नदीमा पनि पानीको बहाव बढ्दै गएको छ । बुढीगण्डकी, त्रिशूली, वाग्मती, मर्स्याङ्दी, कालीगण्डकी, सुनकोशी, भोटेकोशी, तामाकोशी, दुधकोशी, अरुण, तमोर, तिनाउ, कन्काई, कमलालगायतका नदी खोलामा बाढीको जोखिम भएकाले विशेष सावधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board