काठमाडौं । कोभ्याक्समार्फत अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको १५ लाख डोज खोप आज नेपाल आउदै छ । कोभिड– १९ विरुद्धको जे एन्ड जे भ्याक्सिन आज बिहान ११ बजे कतार एयरवेजको नियमित उडानबाट त्रिभुवन विमानस्थलमा आइपुग्ने भएको हो । अमेरिकाले नेपाललाई जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप निःशुल्क प्रदान गरेको हो । यो खोप ब्रसेल्सबाट ल्याउन लागिएको हो ।
अमेरिकाबाट प्राप्त भएको खोप कस्ता नागरिकलाई प्रदान गर्ने भन्ने निर्णय भने सरकारले अहिलेसम्म गर्न सकेको छैन । छुटेका र जोखिमयुक्त समूहका नागरिकलाई प्राथमिकतामा राखेर यो खोप लगाउने तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए । काठमाडौंस्थित अमेरिकी दूतावासले कोभिडविरुद्धको यो खोप अमेरिकी जनताको तर्फबाट नेपाली जनतालाई उपहार भएको जनाएको छ । खोपका लागि नेपालले विगत लामो समयदेखि अमेरिकलाई आग्रह गर्दै आएको थियो ।
अहिलेसम्म नेपालले चीन र भारतबाट ल्याइएका खोप दि“दै आएको छ । अमेरिकाबाट थप खोप खरिदका लागि समेत पहल भइरहेको सरकारले जनाएको छ ।
COMMENTS