चिनियाँ राजदूत यान्छीको घोषणा : नेपाललाई अझै खोप सहयोग गर्छौं

काठमाडौँ — चीनले नेपाललाई थप खोप सहयोग गर्ने प्रद्धिबद्धता जनाएको छ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले सोमबार बिहान भर्चुअल रुपमा पत्रकार सम्मेलन गर्दै नेपाललाई चीनले अझै खोप सहयोग गर्ने बताएकी हुन् ।

चीनले नेपाललाई अहिलेसम्म १८ लाख अनुदान सहयोग र ४० लाख चीन–नेपाल खोप सहकार्यअन्तर्गत पठाएको उल्लेख गर्दै थप खोप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिन् । नेपाल आइसकेको र चीनबाट आउनेका लागि सहमति भएको गरी ५८ लाख खोप उत्तरी छिमेकीबाट आउँछ ।

उनले कोभिड–१९ को सुरुवातमा नेपालले चीनलाई सहयोग गरेको पनि सम्झिन् । नेपालले चीनमा सुरुवातमा कोरोना भाइरसको संक्रमण फैलिएपछि सन् २०२० को फेब्रुअरी ७ मा एक लाख मास्क सहयोग गरेको थियो ।

राजदूत होउले नेपालको खोप अभियानमा सहयोगअन्तर्गत खरिद गरेको ४० लाख खोपमध्ये पहिलो लटको खोप नेपाल आइसकेको उल्लेख गरिन् । उनले चीनले अहिले १० वटा कोभिड–१९ खोप उत्पादन गरेको जानकारी दिइन् । त्यसमध्ये दुई ओटा खोपलाई अहिलेसम्म विश्व स्वास्थ्य संगठनले मान्यता दिएको बताइन् । नेपालमा भने अहिलेसम्म सिनोफार्मको भेरोसेल खोप ल्याइएको छ ।

नेपाल र चीनबीच खोप खरिदमा भएको ‘नन–डिस्कलोजर अग्रिमेन्ट’ माथि सोधिएको प्रश्नमा होउले भनिन्,‘हामीले खोप सहकार्यअन्तर्गत विश्वका १०० मुलुकहरुलाई सहयोग गर्दै आइरहेका छौं । सबै मुलुकहरुसँग यही अन्तर्राष्ट्रिय प्रक्रियाअनुसार काम भइरहेको छ । चीन र नेपालबीचको खोप सहकार्यअनुसार खोप ल्याइएको हो ।’

राजदूत होउले नेपालतर्फको उत्तरी दुई नाकाहरु तातोपानी र रसुवागढीको भन्सार नाकाका समस्याहरु राजनीतिक नभएर प्राविधिक भएको बताइन् । उनले सिन्ज्याङ प्रदेश (तिब्बत क्षेत्र) को भूबनोट र त्यहाँ हुने अक्सिजनको समस्याका कारण पनि नाकामा कडाइ रहेको उल्लेख गरिन् । उनले तातोपानीमा दैनिक १० वटा ट्रक आउने गरेको र रसुवागढीमा नेपाली क्षेत्रमा कम स्थान भएको कारणले गर्दा आयातमा केही समस्या भएको जानकारी आएको बताइन् । ‘तर यी समस्यालाई समाधान गरेर अघि बढ्नका लागि दुवै पक्षबाट प्रयासहरु भइरहेका छन्,’ उनले भनिन्,‘यो समस्या कोरोनाको कारणले हो, यो सकिएपछि फेरि पूर्ण रुपमा काम हुन्छ ।’

उनले विश्वका विकासोन्मुख मुलुकहरुमा खोप सहयोग गरेर जनताको जीवनरक्षा गर्ने र मुलुकको अर्थतन्त्रलाई उकास्नका लागि सहयोग गर्ने पनि बताइन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board