विश्वप्रसिद्ध राजनीतिक चिन्तक फ्रान्सिस फुकियामाले आफ्नो ‘पोलिटिकल अर्डर एण्ड पोलिटिकल डिके’नामक पुस्तकमा राजनीतिक संस्थाहरुको उत्पत्ति, विकास र क्षयीकरणबारे विस्तृतमा उल्लेख गरेका छन् । संक्षेपमा भन्दा कानूनी शासनको प्रत्याभूति गराउने स्वतन्त्र र अन्य प्रजातान्त्रिक संस्थाहरुको विकास हुन सकेन भने उदार प्रजातान्त्रिक प्रणालीले राम्रोसँग काम गर्न सक्दैन भन्ने तर्क उनले गरेका छन् ।
त्यसैगरी अर्का चिन्तक स्यामुल पि हन्टिङ्टनले ‘क्ल्यासेस अफ सिभिलाइजेसन एण्ड रिमेकिङ अफ वर्ल्ड अर्डर’ नामक पुस्तकमा विश्वलाई उनले ७ वटा सभ्यतामा विभाजन गरेका छन् र आगामी दिनका ती सभ्यताहरुको बीचमा द्वन्द्व हुने प्रक्षेपण गरेका छन्, जसको संकेत देखिन थालिसकेको छ ।
एकातिर संसारभर प्रजातान्त्रिक संस्थाहरु कमजोर हुँदैछन् भने अर्कोतिर निरंकुश र दक्षिणपन्थी शक्तिहरु शासन सत्तामा आइरहेका छन् । अनि विश्व राजनीतिमा पनि तीव्र वेगले परिवर्तन आइरहेको छ । त्यसमाथि पनि भारत र चीनको तीव्र उदयसँगै एशिया हरेक हिसाबले विश्व राजनीतिको सेन्टरमा छ ।
दुई उदीयमान भारत र चीनको बीचमा रहेको नेपालको लागि आन्तरिक र बाह्य नीति सही हिसाबले अगाडि बढाउने ठूलो चुनौती छ । शक्ति राष्ट्रहरुबीचको बढ्दो चासोलाई सन्तुलनमा राखेर उनीहरुको आर्थिक विकासलाई आफ्नो राष्ट्रिय स्वार्थसँग जोड्ने काम आफैंमा ठूलो चुनौती हो । तर माथि उल्लेख गरिएको विश्वव्यापी परिवेशलाई गहन र मिहिन ढंगले बुझेर त्यही अनुसारको नीति बनाई नेतृत्व कसले लिने ? प्रजातन्त्रमाथि आन्तरिक रुपमा मात्र होइन, विश्वभर नै ठूलो चुनौती छ । यी विषयलाई राम्रोसँग पहिल्याएर देशलाई सही बाटोमा लैजान सक्ने पार्टी भनेको नेपाली कांग्रेस नै हो ।
पार्टीहरु प्रजातन्त्रका अपरिहार्य संस्था हुन्, उनीहरुको विकास भएमा मात्र लोकतन्त्रले प्रतिफल दिन्छ । उनीहरुको क्षयीकरण भएमा प्रजातन्त्र नै कमजोर हुन्छ । तर, यतिबेला कांग्रेस आफैं दिशाहीन र अस्पष्ट छ । विशेषतस् केही दशकयता पार्टीको नेतृत्वमा बसेकाहरुमा स्पष्ट रुपमा सैद्धान्तिक भिजनको अभाव मात्र देखिएन, उनीहरुले अन्तर्राष्ट्रिय परिवेश कता जाँदैछ भन्ने भेउ नै पाउन सकेनन् । जतिबेला विश्वेश्वरप्रसाद कोइरालाले नेपाली कांग्रेसको लागि नयाँ सिद्धान्त र विचारको प्रतिपादन गरे त्यतिवेलाको आन्तरिक र वाह्य अवस्था र वातावरण नितान्त फरक थियो ।
नेपाली कांग्रेसले आफ्नो विधानमा नै उमेरको हदबन्दी कायम गर्न आवश्यक छ । पहिलो चरणमा ७० वर्ष भन्दा माथिको उमेरका नेताले नेतृत्व लिन नपाउने व्यवस्था गर्नुपर्छ र त्यसलाई विस्तारै तल झार्नुपर्छ ।
उनको सिद्धान्त र विचारले पार्टीलाई अझ पनि डोर्याइरहेको छ तर त्यतिबेला र अहिलेको अवस्थामा आकाश जमीनको फरक छ । त्यसैले उनको विचारबाट आकार लिएको पार्टीको विचार र आकारमा व्यापक परिवर्तनको आवश्यकता रहेको छ । त्यसैले नेपाली कांग्रेसले नयाँ बीपीको खोजी गरिरहेको छ जसले पार्टीलाई मात्र होइन, देशलाई नै नयाँ दिशामा लैजाओस् ।
यतिबेला नेपाली कांग्रेस १४ औं महाधिवेशनको तयारीमा छ । महाधिवेशन नजिकिएसँगै उम्मेदवारी घोषणाको तँछाडमछाड चलिरहेको छ । सबैको ध्यान कसरी पद हत्याउने भन्नेतर्फ केन्द्रित छ तर पार्टीलाई एक सबल, सक्षम पार्टीको रुपमा कसरी स्थापित गर्ने भन्नेतर्फ छैन ।
कम्युनिष्टहरु चिराचिरा परेर फुटेको, सत्तामा रहेका प्रजातान्त्रिक संस्थाहरुलाई ध्वस्त पार्न लागेको र राजनीतिक दलहरुप्रति नै जनताको तीव्र वितृष्णा बढिरहेको समयमा यी सबै विषयलाई सही दिशामा ल्याउनुपर्ने खाँचो छ र ल्याउने दायित्व नेपाली कांग्रेसकै हो ।
त्यसका लागि नेपाली कांग्रेस आफैं स्पष्ट भिजन, सिद्धान्त र विचार सहितको एक सशक्त संस्थाको रुपमा विकसित हुन आवश्यक छ जुन भइरहेको छैन । यतिबेला नेपाली कांग्रेसले राज्यका मुख्य संस्थाहरुलाई कसरी स्वायत्त र पारदर्शी बनाउने भन्ने विषयमा समेत भिजन अगाडि सार्नुपर्छ ।
राज्यका संस्थाहरु स्वायत्त र बलियो भएमा मात्र प्रजातन्त्रको आधार बलियो हुन्छ । भारत, अमेरिका लगायतका प्रजातान्त्रिक मुलुकमा राजनीतिज्ञ गलत बाटोमा गए पनि प्रजातान्त्रिक संस्थाहरुले उनीहरुलाई सही ठाउँमा ल्याउन भूमिका खेलेका हुन्छन् । त्यसैले राज्यका संस्थाहरु निर्माण नेपाली कांग्रेसको पहिलो प्राथमिकता बन्नैपर्छ ।
त्यसैले कांग्रेसको महाधिवेशनमा नेतृत्व हत्याउन अगाडि सरेका उम्मेदवारहरुले आफ्नो भिजन र मिसनलाई सार्वजनिक गर्न ढिलो भइसकेको छ । यस आलेखमा कांग्रेसलाई अब कसरी अगाडि बढाउने भन्ने सन्दर्भमा केही चर्चा गरिएको छ ।
सबैभन्दा पहिला, नेपाली कांग्रेसमा युवालाई कसरी आकर्षित गर्ने भन्ने विषयमा नयाँ सोच ल्याउन आवश्यक छ । विगतको तुलनामा पार्टीमा युवाहरुको आकर्षण घट्दै गएको छ । देशभरिको अवस्था हेर्ने हो भने अलिक अध्ययनशील, विदेश पढेर फर्किएका र अहिलेको राजनीतिबाट आजित भएका युवाहरुको आकर्षण कांग्रेसमा छैन ।
बरु आकर्षक नारासहित खोलिएका नयाँ पार्टीमा उनीहरुको आकर्षण बढ्दै गएको देखिन्छ । यसका थुप्रै कारण होलान्, तर पार्टीको नेतृत्वमा युवा फेस नहुनुले पनि यो पार्टी कतै बुढाहरुको पार्टी त होइन भन्ने भान परेको छ । यति मात्र होइन, सूचना र प्रविधिको तीव्र वृद्धिसँगै आजको युवाले राज्य र राजनीतिक दलहरुबाट के खोजिरहेको छ । पार्टीले के गरोस् भन्ने उनीहरुको अपेक्षा छ, ती विषयमा पार्टी घोत्लिएको नै पाइँदैन ।
यस्तै अवस्था रहने हो भने कुनै दिन नेपाली कांग्रेस बुढाहरुको पार्टीमा परिणत हुनेछ । त्यसैले अब कांग्रेसमा युवा नीति र नेतृत्व स्थापित गर्न आवश्यक छ । यस सम्बन्धमा अब नेपाली कांग्रेसले आफ्नो विधानमा नै उमेरको हदबन्दी कायम गर्न आवश्यक छ । पहिलो चरणमा ७० वर्ष भन्दा माथिको उमेरका नेताले नेतृत्व लिन नपाउने व्यवस्था गर्नुपर्छ र त्यसलाई विस्तारै अझै झार्नुपर्छ ।
नेपालको संविधान २०७२ ले परिकल्पना गरेको राजनीतिक, आर्थिक र सामाजिक रुपान्तरणको एजेण्डा अगाडि बढ्न नै सकेन । संविधान अनुसार संरचना बने तर संविधानमा उल्लेख भएका आर्थिक र सामाजिक एजेण्डाहरु अलपत्र अवस्थामा छन् । त्यसैले संविधानले परिकल्पना गरेको आर्थिक, सामाजिक रुपान्तरण गरी त्यसको स्पष्ट खाका तयार पार्न ढिलो भइसकेको छ । कम्युनिष्टहरु संवैधानिक प्रावधान नै ध्वस्त पार्न उद्यत भइरहेको समयमा संविधानको कार्यान्वयन गर्नु नेपाली कांग्रेसको प्राथमिक दायित्व हो ।
संविधानलाई टिकाउन र प्रजातान्त्रिक मूल्य र मान्यताको जगेर्ना गर्नका लागि संविधानले परिकल्पना गरेको समावेशी राज्यको अवधारणालाई कडाइपूर्वक पालन गर्नुपर्छ । त्यसका लागि नेपाली कांग्रेसले आफूलाई सबैभन्दा समावेशी पार्टीको रुपमा प्रस्तुत गर्नुपर्छ र राज्य प्रणालीलाई कसरी समावेशी बनाउने भन्ने ठोस र स्पष्ट अवधारणा सहित आउनुपर्छ ।
संविधानले परिकल्पना गरेको समावेशी सिद्धान्तलाई पूर्ववर्ती ओली सरकारले पूर्ण रुपमा ध्वस्त बनाएको छ । हालै संवैधानिक निकायहरुमा भएको नियुक्तिले नेपालका राजनीतिक दलहरुको सोचाइ कस्तो छ भन्ने देखाउँछ । नेपाली कांग्रेसले आफूलाई समावेशीप्रति पूर्ण रुपमा प्रतिवद्ध रहेको सन्देश दिनुपर्छ । नेपाली कांग्रेस वास्तविक रुपमा समाजका सबै वर्ग र समुदायको पार्टी बन्नुपर्छ । महिला, मधेशी, मुस्लिम, थारु, दलित, जनजाति लगायतका सबै वर्ग र समुदायलाई राम्रोसँग समेट्न नीति ल्याउन आवश्यक छ ।
सुशासन अर्को महत्वपूर्ण विषय हो । २०४७ सालदेखि अहिलेसम्म राजनीतिक दलहरुले विशेष ध्यान नदिएको विषय हो यो । कुशासनले जनता एकदमै आजित छन् र कतिपय सन्दर्भमा राजनीतिक दलहरु नै कुशासनको प्रवर्द्धनकर्ता भएका छन् । त्यसैले सुशासनको शुरुवात नेपाली कांग्रेसले आफैंले गर्नुपर्छ । त्यसको शुरुवात नेपाली कांग्रेसले टिकटको वितरणबाट शुरु गर्नुपर्छ किनकि कुशासनको शुरुवात नै यहींबाट हुने हो ।
अहिले हाम्रो टिकट वितरणमा ठेकेदार, तस्कर र ठूला रक्सी पसले, जग्गा दलाल र व्यापारीहरुको बाहुल्य छ । जब उनीहरुले टिकट पाउँछन्, जितेर आउँछन र शक्तिमा पुग्छन्, उनीहरु नै भ्रष्टाचार र कुशासनमा लिप्त हुन्छन् । त्यसैले उनीहरु नै कुशासनको स्रोत हुन् । त्यसैले मुहानबाट नै शुद्धीकरणको अभियान शुरु गर्नुपर्छ ।
त्यसैले सुशासन र भ्रष्टाचार नियन्त्रणको सन्देश नेपाली कांग्रेस आफैंले दिने हो, आफैं उदाहरण बनेर देखाउने हो । यसका लागि नेतृत्वमा हिम्मत चाहिन्छ । अध्ययनशील, पार्टीमा लामो समय खटेको र इमान्दार व्यक्तिको हातमा पार्टीको बागडोर जानुपर्छ । विगतमा यस्ता व्यापारी र तस्करको प्रभावमा पार्टीको नेतृत्व नै मुछिएका उदाहरण पनि छन् ।
यसबाहेक अन्य धेरै विषय रहेका छन् जसका विषयमा नेपाली कांग्रेसले स्पष्ट रुपमा आफ्नो धारणा अगाडि बढाउनुपर्छ ।
विश्वमा अहिले धेरै नयाँ विषयहरु आइरहेका छन् जसबाट नेपाली कांग्रेस पृथक् बस्न सक्दैन किनभने त्यसले कुनै पनि रुपमा आन्तरिक नीतिलाई प्रभावित पारिरहेका हुन्छन् ।
उदाहरणको लागि जलवायु परिवर्तन विश्वको एक प्रमुख विषय बनिसकेको छ । जलवायु परिवर्तनको असरले हाम्रो आर्थिक, सामाजिक र जनजीविकाका विषयहरुलाई असर गरिरहेको छ जसलाई कसरी सामना गर्ने भन्ने सम्बन्धमा गहन अध्ययनको आवश्यकता छ ।
आन्तरिक विषयमा ध्यान दिएर मात्र हुँदैन, बाह्य विषयलाई पनि हामीले त्यत्तिकै ध्यान दिनुपर्छ । हाम्रो बाहिरी सम्बन्ध र सम्पर्कलाई राष्ट्रिय हितमा कसरी उपयोग गर्ने भन्ने सम्बन्धमा ध्यान दिनुपर्छ । संसारभर प्रविधिको तीव्र विकास भइरहेको समयमा हामी कहाँ छौं, प्रविधिको विकासलाई सदुपयोग गर्न सकेनौं भने हामी विकासमा नै पछाडि पर्ने खतरा रहन्छ । यसबाहेक विश्व राजनीति कता जाँदैछ, शक्तिशाली मुलुकहरुले कस्तो खालको रणनीति ल्याउँदैछन्, त्यसलाई कसरी लिने सहभागी हुने वा नहुने भन्ने विषयमा पनि एकदमै द्रुत तर सही निर्णय लिन आवश्यक छ ।
पार्टीमा स्पष्ट भिजनको अभाव हुँदा शक्ति राष्ट्रहरुको कुनै पनि नीति कति विवादित बन्छ भन्ने उदाहरण अमेरिकाले प्रदान गर्न लागेको एमसीसी र चीनको बीआरआई हो ।
राजनीतिक नेतृत्वले स्पष्ट भिजन बनाउन नसक्दा र आफ्नो पार्टी सम्हाल्न नसक्दा वर्षौंसम्म यसलाई राजनीतिक विषय बनाउने र अल्झाएर राख्ने काम भएको छ । त्यसैले नेपाली कांग्रेसले समयमा नै यस्ता विषयहरुलाई पहिल्याएर सही समयमा सही निर्णय गर्ने परिपाटीको विकास गर्न ढिलो भइसकेको छ ।अहिलेको जस्तो अवस्था फेरि दोहोरियो भने नेपालमा वैदेशिक लगानीको वातावरण सधैंका लागि बिग्रिन्छ ।
देश विकासका लागि हामीलाई धेरै वैदेशिक सहयोगको आवश्यकता छ तर हामीले वैदेशिक लगानी ल्याउन सकेका छैनौं । कम्युनिष्ट शासनको समयमा वैदेशिक लगानी आउँदैन भन्ने स्पष्ट भइसकेको छ । विगत तीन वर्षमा नेकपाको सरकारले नियमित बाहेक अरु उल्लेख्य वैदेशिक सहयोग ल्याउन सकेन ।
उदाहरणको लागि भारतबाट बहुराष्ट्रिय कम्पनी नेपालमा आउने नै कुरा गरौं । सन् १९९१ देखि १९९४ सम्म डाबर नेपाल, युनिलिभर लगायतका बहुराष्ट्रिय कम्पनीहरु नेपालमा आए । त्यसैगरी भारतीय बैंकहरु पनि नेपालमा आए । त्यसले एकातिर रोजगारीको सिर्जना गर्यो भने अर्कोतिर देशको राजश्व संकलनमा समेत ठूलो योगदान गर्यो । तर पछिल्लो दशकलाई हेर्ने हो भने नेपालमा न वैदेशिक लगानी लगाइएको छ, न बहुराष्ट्रिय कम्पनीहरु नै ।
यस्ता धेरै विषय छन् जसका बारेमा यहाँ चर्चा गर्न सम्भव छैन । तर धेरै विषयमा नेपाली कांग्रेस अलमल, दोधार र अस्पष्ट अवस्थामा छ । पार्टीले समग्र विषयमा अध्ययन नगरेकै कारण कतिपय विषयमा पार्टीले समयमा नै आफ्नो धारणा समेत बनाउन सकेको छैन ।
त्यसैले पार्टीलाई अगाडि लैजाने हो भने को सभापति र को महामन्त्री बन्ने भनेर मात्र पुग्दैन, पार्टी र राज्य संचालनको भिजनलाई पनि अगाडि बढाउनुपर्छ । धेरैले नेपाली कांग्रेसलाई बुढो पार्टी भएको र यसले अबको समयलाई नेतृत्व दिन नसक्ने भन्दै आलोचना गरिरहेका छन् । विगतमा हामीले ठूला ठूला आन्दोलनको नेतृत्व लिएको ब्याजको आधारमा अब पार्टी धेरै अगाडि जान सक्दैन ।
अब प्राप्त गणतन्त्रलाई जोगाएर देशको आर्थिक, सामाजिक विकासलाई कसरी अगाडि बढाउने भन्ने भिजनको साथ अगाडि बढ्ने नेतृत्व हुनुपर्छ । अनि भिजनको कुरा गर्ने मात्र होइन, सत्तामा पुगेपछि त्यसलाई आफ्नो व्यक्तिगत दायरा भन्दा बाहिर आएर कार्यान्वयन गर्न सक्ने व्यक्तिको पनि खाँचो छ । अनि यतिले मात्र पुग्दैन, हाम्रो नीति र कार्यक्रमले समग्र देशको विविधतालाई प्रतिनिधित्व गर्नुपर्छ ।
(लेखक नेपाली कांग्रेसका नेता हुन् ।)
COMMENTS