काठमाडौं । आज अगष्ट १५ तारिख । १९४५ को अगष्ट १५ कै दिन जापानले आत्मसमर्पण गरेपछि दोस्रो विश्वयुद्ध अन्त्य भएको थियो । तर, एक जापानी सैनिकलाई भने विश्वयुद्ध अन्त्य भएको थाहै भएन । उनी विश्वयुद्ध सकिएपछि पनि ३० वर्षसम्म एक्लै युद्ध लडिरहे र यस क्रममा उनले ३० जना दुश्मनलाई पनि मारे । यी सैनिक थिए जापानका सेकेण्ड लेफ्टिनेन्ट हिरु ओनोडा ।
उनलाई उनका कमाण्डिङ अफिसरले अन्तिम निर्देशन दिँदै कुनै हालतमा नमर्न भनेका थिए । फिलिपिन्सको एक टापुमा गुरिल्ला युद्धका लागि तैनाथ यी सैनिकले आफ्ना अधिकारीको आदेश पाएको ३० वर्षसम्म त्यो आदेशको एकदमै इमानदारीपूर्वक पालना गरिरहे । सेकेण्ड लेफ्टिनेन्ट ओनोडाको फिलिपिन्सको लुबाङ टापुमा ड्युटी १९४४ को डिसेम्बरमा सुरु भएको थियो जतिबेला उनी २२ वर्षका थिए ।
इम्पेरियल जापानिज आर्मीका यी युवा इन्टेलिजेन्स अधिकारीलाई जुनसुकै परिस्थितिमा पनि आत्मसमर्पण नगर्न र आफैंले आत्महत्या नगर्न निर्देशन दिइएको थियो । २०१० मा यो निर्देशन सम्झिँदै ओनोडाले भनेका थिए ‘सबै जापानी सैनिकहरु मर्नको लागि तयार थिए तर म इन्टेलिजेन्स अफिसर भएकोले मलाई गुरिल्ला युद्ध गर्न र नमर्न भनिएको थियो । अधिकारी भएपछि मैले आदेश पाएको थिएँ र यो पूरा गर्न सकिने भने मैले लज्जाबोध गर्नुपर्ने हुन्थ्यो ।’
फेब्रुअरी १९४५ मा अमेरिकी र फिलिपिनो सेनाले लुबाङ टापुमा आक्रमण गर्दा लगभग सबैजसो जापानीहरु कोही मारिए भने बाँकीले आत्मसमर्पण गरे । तर, बाँच्ने कलामा उच्च प्रशिक्षण पाएका ओनोडाले आफ्ना थोरै बाँचेका साथीहरुको नेतृत्व गर्दै उनीहरुलाई टापुभित्रको जंगलमा लिएर गए । जापानका तत्कालीन शासक हिरोहितोका वफादार यी सैनिक अधिकारीले त्यहीँबाट गुरिल्ला युद्ध जारी राखे ।
उनले यो युद्ध झण्डै ३० वर्षसम्म जारी राखे । उनलाई आफू यो जंगलमा तैनाथ भएको १ वर्ष नपुग्दै अगष्ट १५, १९४५ मा आफ्नो देशले आत्मसमर्पण गरिसकेको थाहा थिएन । अमेरिकाले हिरोसिमा र नागासाकीमा २ आणविक बम खसालेपछि जापानले आत्मसमर्पण गरेको थियो । यी ड्युटीप्रति प्रतिबद्ध सैनिक अधिकारी भने आफ्ना बाँचेका अन्य ३ जना साथीसँग युद्ध गरिरहेकै थिए ।
त्यतिबेला आकाशबाट उनीहरुका लागि १४ औं आर्मीका जनरल तोमुयुकी यामाशिताको तर्फबाट आत्मसमर्पण गर्ने लिखित आदेश खसालिएको थियो तर यी सैनिकहरुले त्यो दस्तावेज झुटो भएको ठाने । उनीहरुले जंगली फलफूल, चोरीएका किसानका जनावर खाने तथा कहिलेकाहीँ ‘दुश्मन सैनिक’लाई मार्ने गरेर युद्ध जारी राखे । उनीहरुको ३ दशक लामो युद्धमा उनीहरुबाट त्यो फिलिपिनी टापुका करिब ३० जना मारिएका थिए ।
यी ४ सैनिकमध्ये युइची आकात्सुले १९५० मा आफ्ना ३ जना साथीहरुलाई छाडेर आत्मसमर्पण गरे । त्यसको ४ वर्षपछि शोइची शिमान्डा उनीहरुको खोजीमा गएको एउटा सर्च टिमको गोली लागेर मारिए । किन्शिची कोजुका १९७२ मा स्थानीय पुलिसको गोली लागेर मारिए । त्यसपछि ओनाडा यो युद्ध जारी राख्न एक्लो व्यक्ति बाँचेका थिए ।
त्यसपछि पनि उनले आफ्नो खोजीमा आउनेहरुलाई मार्न जारी राखे । धेरै पछि उनले आफूलाई आत्मसमर्पण गर्न भनेर आकाशबाट खसाइएका दस्तावेज अमेरिकीले खसाएको आफूलाई लागेको बताएका थिए किनकि ती दस्तावेजमा थुप्रै गल्तीहरु थिए । उनको लागि उनका परिवारको हस्ताक्षरसहित खसाइएको जापानी झण्डालाई पनि उनले सत्य मान्न अस्वीकार गरेका थिए । झण्डासँग एउटा टेपरेकर्डर पनि थियो जसमा उनकी त्यतिबेला ८६ वर्ष पुगेकी आमाले उनलाई आफू जीवित छँदै घर आउन आग्रह गरेको अडियो रेकर्ड थियो ।
अन्ततः १९७४ मा एक जापानी हिप्पी नोरियो सुजुकीले फेला पारेपछि उनी आत्मसमर्पण गर्न तयार भएका थिए । सुजुकीले ओनोडाको विश्वास जित्न सफल त भएका थिए तर ओनोडाले आफूलाई युद्ध रोक्ने आदेश आफ्ना अधिकारीबाट फेरि नदिइँदासम्म जंगल छाड्न अस्वीकार गरे । त्यसपछि त्यतिबेला अवकाश पाएर पुस्तक पसल चलाइरहेका उनका कमाण्डिङ अफिसर ओनोडालाई भेट्न गए र युद्ध रोक्न आदेश दिए ।
३० वर्षअगाडि उनका कमाण्डिङ अफिसरले उनलाई ‘जेसुकै भए पनि हामी तिम्रो लागि फर्केर आउँछौं’ भनेर दिएको वचन त्यस दिन पूरा भयो । त्यसपछि ओनोडाले आफ्नो तरवार, त्यतिबेलासम्म काम गरिरहेको एरिसाका राइफल, ५०० राउण्ड गोली, केही हाते ग्रेनेडहरु र एउटा दुईधारे चक्कु ड्रयागर त्यागे । यो ड्रयागर उनकी आमाले उनी समातिएको खण्डमा आत्महत्या गर्नको लागि भनेर दिएकी थिइन् ।
त्यतिबेलासम्म पनि उनले आफ्नो सैनिक युनिफर्म सफा र सुरक्षित राखेका थिए । उनी त्यही युनिफर्ममा जंगलबाट बाहिर निस्किए । उनी र उनका साथीहरुले ३० जना टापुवासीको हत्या गरेकोमा फिलिपिनो राष्ट्रपति फर्डिनान्ड मार्कोसले उनलाई माफी दिए । २२ वर्षको उमेरमा त्यो टापुमा ड्युटी सुरु गरेका उनी ५२ वर्षको उमेरमा जापान फर्किए जसलाई जापानमा हिरोजस्तै स्वागत गरियो ।
एक पत्रकार सम्मेलनमा उनले त्यहाँ के गरिरहेका थिए भन्ने प्रश्नको जवाफमा उनले सामान्य रुपमा जवाफ दिएका थिए ‘मलाई दिइएको आदेश पालना गरिरहेको थिएँ ।’ १९४४ मा उनका कमाण्डिङ अफिसरले उनलाई भनेका थिए ‘३ वर्ष लाग्न सक्छ, ५ वर्ष लाग्न सक्छ तर जेसुकै भए पनि हामी तिम्रो लागि फर्केर आउनेछौं ।’ आत्मसमर्पण गरेपछि उनी थप ३९ वर्ष बाँचे र ९१ वर्षको उमेरमा उनको टोक्योमा मृत्यु भयो ।
COMMENTS